दानबहादुरको आईजीपीमा पुनर्बहालीको मागसहितको रिट
काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीले पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदन दर्ता भएको छ ।
कार्कीले बिहीबार आफूलाई आईजीपी पदमा पुनर्बहाली गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेका थिए । उक्त रिट दर्ता भए पनि सुनुवाइका लागि भने पेसी तोकिएको छैन ।
आफूलाई सुनुवाइको अवसरसमेत नदिई कुनै आधार र कारणबिना गैरकानुनी रूपमा प्रहरी प्रमुखबाट हटाइएको कार्कीको दाबी छ । उनले सरकारको निर्णय बदर गरी आफूलाई पूर्ववत् पदमा पुनर्बहाली गर्न माग गरेका छन् ।
मन्त्रिपरिषद्को कात्तिक १८ गतेको निर्णयअनुसार कार्कीलाई आईजीपीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा नियुक्त गरिएको थियो । उक्त निर्णयअनुसार डा। मनोजकुमार केसीले बुधबारदेखि नै नेपाल प्रहरीको प्रमुखको जिम्मेवारी सम्हालिसकेका छन् ।
