सुनकोशी–मरिण डाइभर्सन ठेक्का सुरु गर्न निर्देशन
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय राष्ट्रिय गौरवको आयोजनाको ठेक्का प्रक्रिया संशोधित ऐन तथा नियमावली अनुसार तत्काल सुरु गर्न निर्देशन दिएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सोमबार बिहान बसेको बैठकले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई यस्तो निर्देशन दिएको हो ।
बैठकमा मन्त्रालयले राष्ट्रिय गौरवको आयोजनालाई निर्धारित समयमै सम्पन्न गर्न आवश्यक प्रक्रिया अघि बढाउने प्रतिबद्धतासमेत जनाएको छ । सरकारले यसअघि राष्ट्रिय गौरवको सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का प्रक्रियामा गम्भीर कानुनी तथा प्रक्रियागत त्रुटि भएको पाइएपछि ठेक्का प्रक्रिया रद्द गर्ने निर्णय गरेको थियो ।
आयोजनाको प्राविधिक प्रस्ताव स्वीकृत भई यही कात्तिक १६ गते आर्थिक प्रस्ताव खोल्ने कार्यतालिका तय भइसकेको अवस्थामा कानुनी व्यवस्थाको पालना नभएको देखिएपछि सरकारले खरिद प्रक्रिया रद्द गरेको हो । बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव डा. जगदीश्वर कर्माचार्य, सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया, आयोजनाका प्रमुख कृष्णप्रसाद रिजाल र आयोजनाका इन्जिनियरहरूको सहभागिता थियो ।
संशोधित कानुनी व्यवस्था अनुसार आवश्यक प्रक्रिया पूरा नगरी ठेक्का प्रक्रिया अघि बढाइएको देखिएपछि सरकारले खरिद प्रक्रिया रद्द गरी कानुनी त्रुटि सच्याउने निर्णय गरेको हो ।
