सल्यानमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु

काठमाडौं । सल्यानमा गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। अन्य सातजना घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्थ गम्भीर छ। सिद्ध कुमाख गाउँपालिका–२ रातामाटेस्थित भित्री कच्ची सडकखण्डमा शुक्रबार साँझ श्रीनगरबाट टाकुरा गाउँतर्फ जाँदै गरेको लु.१ ज २३६८ नम्बरको जिप दुर्घटना भएको प्रहरीले जनाएको छ।

जिप सडकबाट करिब १५० मिटर तल खोलामा खसेर दुर्घटना भएको हो। दुर्घटनामा घाइते भएका १० जनालाई उद्धार गरी उपचारका लागि विभिन्न अस्पतालमा पठाइएको थियो। घाइतेमध्ये तीन जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा सिद्ध कुमाख गाउँपालिका- २ बस्ने वर्ष ४२ की कृष्णी बस्नेत, वर्ष ४५ की सीता विक र वर्ष ४३ का साउने रोका रहेका छन्। त्यसैगरी दुर्घटनामा सिद्ध कुमाख गाउँपालिका–२ बस्ने वर्ष २४ को देवबहादुर विक, वर्ष ५८ की सुशीला चलाउने, वर्ष १३ की राधिका चलाउने र वर्ष २२ का दीपक रोका घाइते भएका छन्।

त्यस्तै, सिद्ध कुमाख गाउँपालिका–३ बस्ने वर्ष १५ का कमल बुढाथोकी र वर्ष ७ की बिमला बुढाथोकी भन्ने रुपा बुढाथोकी तथा सिद्ध कुमाख गाउँपालिका–२ बस्ने वर्ष १० का युवराज परियार पनि घाइते छन्।

घाइतेहरूमध्ये देवबहादुर विक, कमल बुढाथोकीको अवस्था गम्भीर रहेको छ भने अन्य घाइतेहरूको अवस्था मध्यम रहेको छ। घाइतेमध्ये केहीलाई थप उपचारका लागि दाङ र नेपालगन्ज रिफर गरिएको छ। जिप चालक सिद्ध कुमाख गाउँपालिका- २ बस्ने वर्ष ३८ का तिलक चलाउनेलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सल्यानमा राखिएको  प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर