दसैँ मनाउन गाउँ फर्किने बढे, २४ घण्टामा ५६ हजारभन्दा बढी यात्रु उपत्यकाबाहिर

काठमाडौं । बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट घर फर्किने यात्रुको चाप बढेको छ। पछिल्लो २४ घण्टामा मात्रै उपत्यकाका विभिन्न नाका हुँदै ५६ हजार ८०९ यात्रु बाहिरिएका छन्।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालका अनुसार सोमबार बिहानदेखि आज बिहानसम्म उक्त सङ्ख्यामा यात्रु बाहिरिएका हुन्।

सबैभन्दा बढी नागढुङ्गा नाकाबाट २७ हजार ६४९ र भक्तपुर नाकाबाट २० हजार ६१५ यात्रु बाहिरिएका छन्। दसैँ मनाउन अध्ययन, रोजगारी तथा व्यवसायका लागि राजधानीमा बस्दै आएका मानिसहरू गाउँ फर्किन थालेपछि सार्वजनिक यातायातमा चाप बढेको छ।

यात्रुको चापसँगै सडकको अवस्थाका कारण सवारी व्यवस्थापनमा समेत समस्या देखिएको यातायात व्यवसायीले बताएका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव डेकनाथ गौतमका अनुसार विभिन्न राजमार्ग बिग्रिएका कारण सवारीसाधन समयमा गन्तव्यमा पुग्न र राजधानी फर्किन कठिनाइ भइरहेको छ।

महासङ्घले यात्रुलाई अग्रिम टिकट लिएर मात्र यात्रा गर्न, तोकिएको भाडा तिर्न र सवारीसाधनको अवस्था जाँच गरेर यात्रा गर्न आग्रह गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर