बाँकेमा दुर्गाको मूर्ति बनाउन भ्याइ नभ्याइ

काठमाडौं ।  बडादसैँ नेपालीहरूको घरआँगनमा भित्रिँदै गर्दा बाँके जिल्लामा धार्मिक रौनक र चहलपहल ह्वात्तै बढेको छ । घटस्थापनादेखि नवदुर्गाभरि जिल्लाका विभिन्न चोक, टोल र बजार क्षेत्रमा परम्परागत रूपमा दुर्गा माताको भव्य मूर्ति स्थापना गरी पूजाअर्चना गर्ने परम्परा छ । सोही परम्परालाई मूर्त रूप दिन यतिबेला बाँकेका मूर्तिकार तथा स्थानीय कलाकारलाई मूर्ति बनाउन भ्याइ नभ्याइ भएको छ ।

माटो, बाँस, सुतरी र परालका टुक्रा मिलाएर देवीको मूर्ति निर्माणमा निकै व्यस्त र महत्वपूर्ण मानिन्छ । घटस्थापनाकै दिन दुर्गा मूर्तिको प्राणप्रतिष्ठा गरिने भएकाले कलाकार करिब डेढ महिनाअघिदेखि नै उक्त कार्यमा होमिने गर्छन् ।

विगतका वर्षमा बाँके र आसपासका क्षेत्रमा पूजा गरिने अधिकांश मूर्ति छिमेकी मुलुक भारतबाट आयात हुने गर्दथे तर पछिल्ला केही वर्षमा भने यो परिस्थिति बदलिएको छ । नेपालगन्जमै स्थानीय कलाकारले व्यावसायिक र कलात्मक रूपमा मूर्ति निर्माण गर्न थालेपछि भारतमाथिको परनिर्भरता उल्लेखनीय रूपमा घटेको छ ।

नेपालगन्जको विद्युत् रोडमा दुर्गा मूर्ति निर्माणमा व्यस्त रहनुभएका मूर्तिकार अङ्कित मिश्रले यस वर्ष परिवारका सदस्यको सहयोगमा करिब ४० सेट दुर्गा मूर्ति तयार गरिरहेको जानकारी दिनुभयो । उहाँले मौसमी पेसा भएकाले आफूले गत वैशाख महिनादेखि नै यसको तयारी थालेको बताउनुभयो ।

मूर्तिकार मिश्रले भन्नुभयो, “एउटा पूर्ण दुर्गा मूर्तिको सेट तयार गर्न सामान्यतया १० देखि १५ दिनको कठोर श्रम लाग्छ । घटस्थापनाको दिनसम्म सबै अर्डर बुझाइसक्नुपर्ने बाध्यताका कारण बिहानैदेखि अबेर साँझसम्म काममै खटिनु पर्छ ।” उहाँले निर्माण गर्नुभएका मूर्ति बाँकेका साथै सुर्खेत र दाङलगायतका छिमेकी जिल्लामा समेत पठाइने गरिन्छ । मूर्तिको आकार र कलात्मक बनावटका आधारमा मूल्य निर्धारण हुने भए पनि एउटा सामान्य सेटको मूल्य १५ हजार रुपियाँभन्दा बढी पर्ने उहाँको भनाइ छ ।

मूर्ति निर्माणका लागि आवश्यक पर्ने मुख्य सामग्री माटो, बाँस, सुतरी र भुस स्थानीयस्तरमै उपलब्ध भए पनि अन्तिम शृङ्गार र सजावटका सामग्रीका लागि भने अझै भारतीय बजारकै भर पर्नुपर्ने बाध्यता छ । दुर्गा मूर्ति निर्माण कार्य मौसमी प्रकृतिको भएकाले यसले वर्षभरि नियमित आम्दानीको सुनिश्चितता दिन नसकेको र यसैका कारण नयाँ पुस्तालाई यस रैथाने कलातर्फ आकर्षित गर्न चुनौतीपूर्ण बनेको मूर्तिकार बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर