विदेशमा रहेका नेपालीलाई मताधिकारबारे परामर्श
काठमाडौं । निर्वाचन आयोगले विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउनेबारे परामर्श थालेको छ । आगामी प्रदेश र स्थानीय तहको निर्वाचनलक्षित आयोगले अस्थायी रूपमा विदेशमा बसोबास गरेका नेपालीलाई मतदानमा सहभागी गराउनेबारे सरोकारवालासँग छलफल थालेको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहित प्रायः सबै दल विदेशमा बसोबास गर्ने नेपालीलाई मतदानमा सहभागी गराउन सकारात्मक भएकाले आयोग निरन्तर छलफलमा जुटेको हो ।
सङ्घदेखि प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने २४ वटा राजनीतिक दललाई आमन्त्रण गरेर केही दिनअघि यो विषयमा छलफल गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । नेपालको संविधानले नेपाली नागरिकलाई मतदानको अधिकार दिएको हुँदा स्थायी ठेगानाभन्दा बाहिर अस्थायी रूपमा बसेका र विदेशमा बसोबास गरेका सबैलाई मतदानको अधिकार दिनेबारे राजनीतिक दलसँग सकारात्मक छलफल भइरहेको उहाँले बताउनुभयो ।
उहाँले विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउँदा प्रविधिको प्रयोग गर्नुपर्ने भएकाले निर्वाचनको स्वच्छता, निष्पक्षता र विश्वसनीयतामा असर नपर्ने गरी अध्ययन गरेर मात्र गर्नुपर्ने दलबाट सुझाव आएको बताउनुभयो । यसैबिच आयोगले गत असोज ५ गते नेपाली राजदूतावाससहित नेपाली कूटनीतिक नियोगसँग यस विषयमा छलफल गरेको थियो ।
नेपालीको सङ्ख्या, मतदाता नामावली सङ्कलनको तरिका र सम्भावित मतदान विधि, मतदाता नामावली सङ्कलन र निर्वाचन सञ्चालन गर्न सम्बन्धित कूटनीतिक नियोगको भूमिकालगायतका विषयमा छलफल भएको प्रवक्ता भट्टराईले जानकारी दिनुभयो ।
प्रवक्ता भट्टराईले भन्नुभयो, “विदेशमा बसोबास गरेका नेपाली नागरिकलाई मतदानमा सहभागी गराउन कस्तो कानुन बनाउने ? कसरी अगाडि बढाउने भन्नेबारे छलफल जारी छ । के कसरी मतदानमा सहभागी गराउने टुङ्गो लागेको छैन । छलफलकै क्रममा भएकाले ठ्याक्कै सेयर गर्ने पोजिसनमा पुगेका छैनौँ ।” तर, विदेशमा बसोबास गर्ने नेपालीले मतदानमा सहभागी हुन नेपाली नागरिकता र राहदानी अनिवार्य हुनुपर्ने कानुनी व्यवस्था रहेको उहाँले बताउनुभयो । रास्वपाका केन्द्रीय सदस्य एवं सांसद गणेश कार्कीले विदेशमा रहेका नेपालीलाई मताधिकार दिनु पर्छ भन्नेमा पार्टी स्पष्ट रहेको बताउनुभयो । “निर्वाचनको निष्पक्षताका विषयमा कुन साधन ? कुन प्रविधि प्रयोग गरेर विश्वसनीयता कायम गर्ने भन्ने हो ? आगामी निर्वाचनमा विदेशमा रहेका नेपालीलाई मताधिकार दिनु पर्छ भन्ने छ । प्राविधिक रूपमा कुनै समस्या नआउने गरी विश्वासिलो रूपमा मतदानको व्यवस्था गर्नु पर्छ,” उहाँले भन्नुभयो ।
कानुनविद् चन्द्रकान्त ज्ञवालीले नेपालमा जन्मेर विविध कारणले विदेशमा बसोबास गर्ने नेपालीले मताधिकार पाउने कानुनी अधिकार भएको बताउनुभयो । विदेशमा रहेका नेपालीलाई मतदान गर्ने व्यवस्था मिलाउनु राज्यको कर्तव्यसमेत भएको उहाँले प्रस्ट पार्नुभयो । “विदेशमा रहेका नेपालीलाई ‘राइट टु भोट’ हुन्छ । मताधिकार सार्वभौम अधिकार हो । नेपालमा जन्मेपछि जहाँ गएर बसे पनि मतदाधिकार पाउँछन् । नेपालमा अवसर नपाएर विदेश जाने हो । नभए स्वदेशमै हुन्थे,” उहाँले भन्नुभयो, “राज्यले भोट हाल्ने व्यवस्था नगरेकाले नहालेका हुन् । भोट हाल्ने व्यवस्था इमेलबाट गर्ने कि अन्य कुनै प्रविधिको प्रयोग गरेर गर्ने कि, दूतावास गएर मत हाल्ने त्यो राज्यले व्यवस्था गर्ने कुरा हो ।”
