बिमामा आबद्ध हुन राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौं । स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध हुन राष्ट्रिय परिचयपत्र अनिवार्य गरिने भएको छ । स्वास्थ्य बिमा बोर्डले स्वास्थ्य बिमा कार्यक्रमलाई व्यवस्थित गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय गरेको हो ।

पुस १ गतेदेखि १६ वर्ष पूरा गरेका नागरिकले स्वास्थ्य बिमा कार्यक्रममा नयाँ आबद्धता, नवीकरण तथा बिमासेवा प्राप्त गर्दा अनिवार्य रूपमा राष्ट्रिय परिचयपत्र प्रस्तुत गर्नुपर्ने नयाँ प्रावधान लागु गरिएको बोर्डका अध्यक्ष डा. सुवास प्याकुरेलले बताउनुभयो । उहाँले सामान्य तथा लक्षित वर्गका सबै बिमित परिवारले ‘एचआइबी ई पोर्टल’ मार्फत आफ्नो विवरण अद्यावधिक गर्नुपर्ने जानकारी दिनुभयो ।

डा. प्याकुरेलका अनुसार राष्ट्रिय परिचयपत्रलाई स्वास्थ्य बिमा प्रणालीसँग जोड्दा बिमितको पहिचान सुनिश्चित हुनुका साथै एउटै व्यक्तिको दोहोरो आबद्धता नियन्त्रण हुने छ । साथै विवरण अद्यावधिक गर्न तथा दाबी व्यवस्थापनलाई विश्वसनीय बनाउन पनि सहयोग पुग्ने उहाँले बताउनुभयो ।

बोर्डले स्वास्थ्य बिमा कार्यक्रमको सेवा खरिद तथा भुक्तानी प्रणालीलाई थप प्रभावकारी बनाउन रणनीतिक खरिदसम्बन्धी अध्ययन कार्यदल गठन गर्ने निर्णयसमेत गरेको छ ।

कार्यदलले सेवाप्रदायक स्वास्थ्य संस्थाको छनोट, सम्झौताको आधार, सेवाको वर्गीकरण तथा भुक्तानी विधिसहितको प्रतिवेदन ६० दिनभित्र पेस गर्ने छ । यस्तै स्वास्थ्य संस्थाले विद्युतीय स्वास्थ्य अभिलेख प्रणालीमार्फत उपलब्ध गराउने डिजिटल स्वास्थ्य अभिलेख तथा दाबी विवरणलाई निर्धारित मापदण्ड अनुसार मान्यता दिने निर्णय गरेको छ । यस्ता विवरणलाई आगामी दिनमा कृत्रिम बौद्धिकता तथा मेसिन लर्निङमा आधारित दाबी समीक्षा प्रणालीमा उपयोग गरिने उहाँले बताउनुभयो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर