गोकर्णेश्वर पितृधाममा श्रद्धालु भक्तजनहरूको घुइँचो
काठमाडौं । काठमाडौं उपत्यकाको पूर्वोत्तर भागमा रहेको गोकर्णेश्वर महादेव मन्दिर वरपर शुक्रबार बिहानैदेखि पितृहरूप्रति सम्मानमा श्रद्धाञ्जली अर्पण एवं प्रकट गर्ने भक्तजनहरूको घुइँचो लागेको छ ।
आज शुक्रबार कुशे औँसी अर्थात् बाबुको मुख हेर्ने दिन भएकाले दिव)गत पितृहरूको सम्झनामा पिण्डदान गरी श्राद्धकर्म वा सिदा दान गर्नेहरूको घुइँचो लागेको हो । दिवङ्गत पिताप्रति श्रद्धा व्यक्त गर्ने तथा यस दिन वर्षभरिका धार्मिक कृत्यमा आवश्यक पर्ने कुश घरमा भित्र्याउने परम्परा रहेकाले यसलाई कुशे औँसी भनिएको हो । कुशलाई भगवान् विष्णुको स्वरूप मानिन्छ।
नेपालमा प्रचलित धार्मिक मान्यतानुसार गोकर्णेश्वर पितृ तीर्थधामलाई उत्तरगया मानिन्छ । दिवङ्गत पिताप्रति श्रद्धा व्यक्त गर्दै तर्पण र पिण्डदान गर्नेको आज बिहानैदेखि घुइँचो लागेको थियो । धार्मिक मान्यताअनुसार भाद्रपद कृष्ण औँसीका दिन गोकर्णेश्वरमा श्राद्ध तथा तर्पण गर्दा २१ पुस्तासम्मका पितृले मुक्ति (मोक्ष) पाउने विश्वास गरिन्छ ।
आजको दिन गोकर्णेश्वर महादेवको दर्शन गरेमा दिवङ्गत बाबुको प्रतीकात्मक दर्शन भएको मानिन्छ । धार्मिक मान्यताअनुसार पशुपतिनाथमा श्री यन्त्र र गोकर्णेश्वरमा बाल यन्त्र रहेकाले पशुपतिनाथको दर्शन गर्नेले गोकर्णेश्वर महादेवको पनि दर्शन गर्नुपर्छ ।

