बोडेको प्रसिद्ध तथा ऐतिहासिक नीलवाराही नाच प्रदर्शन

काठमाडौं ।  भक्तपुरको मध्यपुर थिमिमा सापारु अर्थात् गाईजात्रा सकिएलगत्तै विभिन्न नाच प्रदर्शन भइरहेका छन् । । थिमि, बोडे, नगदेशमा नीलवाराही, महाकाल, अष्टमातृका, भष्मासुर मोहिनीलगायत नाचको प्रदर्शन गरिएको छ । भक्तपुरको थिमिस्थित बोडेको प्रसिद्ध तथा ऐतिहासिक नीलवाराही नाच पनि भक्तजनहरूका लागि प्रदर्शन गरिएको छ ।

प्रत्येक वर्ष गाईजात्राको भोलिपल्टको मध्यरातिबाट अर्थात् भाद्र द्वितीयादेखि पञ्चमीसम्म यो नाच प्रस्तुत गरिन्छ । चार दिन चार रात बोडेका विभिन्न स्थानमा प्रदर्शन हुने यो नाच यस पटक बुधबार दिउँसो समापन हुने छ । नाचगणका सदस्य भुवन श्रेष्ठका अनुसार बोडेमा राक्षसले दुःख दिएपछि नीलवाराही देवीले एक स्थानीय बासिन्दालाई नाच सिकाएकाले यो नाचमा दैवी शक्ति प्राप्त हुने जनविश्वास छ । उहाँले नाच नारायणस्थान लाछीबाट सुरु भई लायकु छें, विष्णुघाट, महालक्ष्मीथान, भाँगुटोल, खोंसी टोल, नीलवाराहीस्थान हुँदै पुनः नारायणथानमा प्रदर्शन गरेर समापन गरिने बताउनुभयो ।

नाचमा धाँ बाजा, भुस्या, काँय, पाँगा बाजाको तालमा परम्परागत शैलीमा देवी र देवगण नाच्ने गुठीका नाइके प्रेमचन्द्र अदुवा श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार नीलवाराही नाचको देवगणमा भैरव एक, द्वारपाल दुई तथा वाराही, कुमारी, गणेश र सिंह चार/चार गरी १९ जनाको समूह हुन्छ । देवगणका नौ सहयोगी र वाद्यवादक गरी एक सय जनाभन्दा बढी व्यक्ति नाचमा सक्रिय हुन्छन् ।

परापूर्वकालमा बोडेको उत्तरपूर्वी दिशाको जङ्गलमा रहेकी नीलवाराही देवीले मानिसको रूप धारण गरी बोडे सहरमा आएर स्थानीय धों जातका एक मानिसलाई जङ्गलमा लगी चार दिनसम्म सो नाचको सम्पूर्ण विधिविधान सिकाएर पठाएको र उनैले यो नाच सुरु गरेको हो भन्ने किंवदन्ती पनि रहेको छ । विभिन्न देवीदेवताको आकृतिको मुकुन्डो लगाएर घन्टौँसम्म टोल टोल घुमेर दैनिक १० देखि १४ घण्टासम्म नाच्नुपर्ने यो नाच चलिरहँदा देवगणले खान, बस्न, बोल्न, घामपानीमा छाता ओढ्न, दिसापिसाब गर्न र जुत्तासमेत लगाउन नहुने नियम रहेको श्रेष्ठले बताउनुभयो । नीलवाराही गुठी नै सञ्चालन गरी स्थानीयले नाचलाई जोगाउँदै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर