पहिलो सरकारी पोस्टिङ नै बन्यो जीवनको अन्तिम यात्रा
काठमाडौं । लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गरी गत जेठमा खरिदार पदमा नाम निकालेका सल्यानको बागचौर नगरपालिका–१० पीपलनेटाका आयुष खड्काको पहिलो सरकारी पोस्टिङ नै जीवनको अन्तिम यात्रा बनेको छ। खड्काको पहिलो पोस्टिङ रसुवाको टिमुरेस्थित प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रमा भएको थियो। सरकारी सेवामा प्रवेश गरेको केही समयमै भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढी र पहिरोमा परी उहाँ बेपत्ता हुनुभएको थियो।
बाढीमा बेपत्ता हुनुभएका खड्काको शव चार दिनपछि चितवनमा फेला परेको परिवारले जनाएको छ। भदौ १४ गते परिवारले शव पहिचान गरेपछि उहाँको निधन भएको पुष्टि भएको हो। खड्काको सोमबार नै चितवनस्थित देवघाटमा अन्तिम संस्कार गरिने उहाँका काका रमेश खड्काले जानकारी दिनुभयो।
आयुष कृष्ण खड्का र मुना खड्काका एक मात्र सुपुत्र हुनुहुन्थ्यो। लोकसेवा आयोग उत्तीर्ण गरेर सरकारी सेवामा प्रवेश गरेपछि परिवारमा खुसी छाएको थियो। तर जागिर सुरु गरेको केही समयमै आएको विपद्ले परिवारको खुसीलाई शोकमा परिणत गरिदिएको छ।
आयुषका बुबा कृष्ण खड्काले छोराले लोकसेवा उत्तीर्ण गरेपछि सरकारी सेवामा राम्रो भविष्य बनाउने आशा गरेको बताउनुभयो।
“छोराले लोकसेवा पास गरेपछि अब उसको भविष्य राम्रो हुन्छ भन्ने लागेको थियो। पहिलोपटक जागिर खाएर दुर्गम ठाउँमा गएको थियो। जागिर सुरु गरेको केही समयमै यस्तो खबर सुन्नुपर्ला भनेर कहिल्यै सोचेका थिएनौँ,” उहाँले भन्नुभयो।
टिमुरेमा आएको बाढीले प्लान्ट क्वारेन्टाइन कार्यालय रहेको भवनसहित आसपासका क्षेत्रमा ठूलो क्षति पु¥याएको थियो। कार्यालयमा कार्यरत कर्मचारी तथा घरबेटीका परिवारका सदस्यसमेत त्यहाँ बस्दै आएका थिए। बाढी र पहिरोपछि कार्यालयमा कार्यरत तीन जना सम्पर्कविहीन भएका थिए।
खड्कासँगै सोही कार्यालयमा कार्यरत अछामका जागेश्वर शर्मा र कार्यालय सहयोगी शिवप्रसाद ढकाल पनि बाढीपछि सम्पर्कविहीन हुनुहुन्छ। शर्मा तीन वर्षदेखि हिमाली दुर्गम क्षेत्रमा कार्यरत हुनुहुन्थ्यो भने रसुवाका स्थानीय ढकाल लामो समयदेखि सोही कार्यालयमा कार्यालय सहयोगीका रूपमा कार्यरत हुनुहुन्थ्यो।
खड्का भने लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गरी पहिलोपटक सरकारी सेवामा प्रवेश गर्नुभएको थियो। नयाँ जागिर, नयाँ ठाउँ र नयाँ जिम्मेवारी बोकेर टिमुरे पुग्नुभएका उहाँको सरकारी सेवाको यात्रा सुरु भएको केही समयमै टुंगिएको हो।
तीनै जना एउटै कार्यालयमा कार्यरत हुनुका साथै एउटै ठाउँमा बस्दै आएका र एउटै भान्सामा खाना खाने सहकर्मी रहेको बताइएको छ। कार्यालयको दैनिकीमा सँगै रहने उनीहरूलाई भोटेकोशीमा आएको विनाशकारी बाढी र पहिरोले एकैपटक सम्पर्कविहीन बनाएको थियो।
गत जेठमा लोकसेवा उत्तीर्ण भएको खबरले खुसी भएको खड्का परिवार अहिले शोकमा डुबेको छ। सरकारी सेवामा उज्ज्वल भविष्यको सपना बोकेर दुर्गम क्षेत्रमा पुग्नुभएका आयुषको यात्रा पहिलो पोस्टिङमै टुंगिएको छ।
