स्पेस–एक्सको रकेटको टुक्रा चन्द्रमामा ठोक्कियो
काठमाडौं । चन्द्रमामा मानव निर्मित करिब दुई लाख किलोग्राम फोहोर थुप्रिएको छ । यो फोहोर विगत ६ दशकभन्दा बढी समयदेखि गरिएका विभिन्न अन्तरिक्ष अभियानका क्रममा थुप्रिएको हो ।
चन्द्रमामा अवतरण गरिएका वा दुर्घटनाग्रस्त ७० भन्दा बढी अन्तरिक्ष यान र तिनका भग्नावशेष त्यहीँ थुप्रिएको बेलायती समाचार संस्था बिबिसीले जनाएको छ । अन्तरिक्ष यात्रीहरूले चन्द्रमामा गुडाएका पाँच वटा रोभर र वैज्ञानिक उपकरणहरू तौल कम गर्न त्यहीँ छाडिएका थिए । मानव मलमूत्र र फोहोरका झोला पृथ्वीमा फर्किने क्रममा यानको तौल कम गरी इन्धन जोगाउन अन्तरिक्ष यात्रीले आफ्ना अनावश्यक सामान चन्द्रमामै फालेका थिए । यसअन्तर्गत मानव मलमूत्र (दिसा, पिसाब, बान्ता) भरिएका ९६ वटा सिल गरिएका झोला चन्द्रमाको सतहमा छन् । त्यसैगरी अमेरिकाको झन्डा, अन्तरिक्षयात्रीका पुराना बुट, जुत्ता र विभिन्न औजार, अन्तरिक्षयात्री चाल्र्स ड्युकले छोडेको तस्बिर र दुई वटा गोल्फ बल, आइज्याक न्युटनको गुरुत्वाकर्षण सिद्धान्त परीक्षण गर्न प्रयोग गरिएको एउटा फलामको हथौडा र बाजको प्वाल चन्द्रमाको सतहमा छन् ।
चन्द्रमामा वायुमण्डल, हावा, पानी वा ब्याक्टेरिया नहुने भएकाले यो फोहोर र मानव मलमूत्र सड्दैन । त्यसैले यो लाखौँ वर्षसम्म जस्ताको त्यस्तै रहने वैज्ञानिक बताउँछन् । हालका वर्षहरूमा नासाले यी फोहोरलाई पुनः प्रयोग गर्ने प्रविधि विकास गर्ने प्रयास गर्दै छ ।
यसैबिच अमेरिकी कम्पनी ‘स्पेस–एक्स’ ले प्रक्षेपण गरेको रकेटको करिब चार हजार किलो तौलको एउटा टुक्रा चन्द्रमामा उच्च गतिमा ठोक्किएको अमेरिकी समाचार संस्था सिएनएनले जनाएको छ । यो घटनासँगै चन्द्रमामा थुप्रिएका मानव निर्मित वस्तुहरूले बनाएको फोहोरबारे चासो उत्पन्न भएको छ । सन् १९५९ सेप्टेम्बरमा तत्कालीन सोभियत सङ्घको ‘लुना २’ चन्द्रमामा पुग्ने पहिलो यान बनेयता सुरु भएको यो फोहोर थुप्रिने क्रम आजसम्म निरन्तर छ । नासाको ‘एपोलो’ कार्यक्रमका छ वटा सफल अवतरणबाट मात्रै ७९६ वटा वस्तु चन्द्रमामै छाडिएका थिए ।
