धरानको पिण्डेश्वरमा बोलबम यात्रा

काठमाडौं ।  धरान उपमहानगरपालिका–१४ स्थित विजयपुर डाँडामा रहेको प्रसिद्ध धार्मिकस्थल पिण्डेश्वर बाबाधाममा बोलबम सुरु भएको छ। साउन महिनाको पहिलो सोमबारसँगै पिण्डेश्वर बाबाधाममा दर्शन तथा जलाभिषेक गर्ने श्रद्धालुको उल्लेख्य उपस्थिति रहेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ।

पिण्डेश्वर बाबाधाममा राति १२ बजेदेखि नै भक्तजनको लाइन लागेको मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष पंकज घिमिरेले बताउनुभयो। साउन महिनाभर सञ्चालन हुने बोलबम पूजाको पहिलो दिन बिहान १० बजेसम्म करिब ७ हजार भक्तजनले दर्शन गरिसकेको र दिनभरमा १५ हजारभन्दा बढी श्रद्धालुले जल चढाउने अपेक्षा गरिएको उहाँले जानकारी दिनुभयो।

भक्तजनको भीडलाई व्यवस्थापन गर्न नेपाल प्रहरी र नगर प्रहरी परिचालन गरिएको छ। दर्शन, जल चढाउने व्यवस्था, वर्षाका बेला ओत लाग्ने स्थान तथा भक्तजनको सङ्ख्या गणना गर्ने मेसिनसमेत यस वर्षदेखि व्यवस्था गरिएको कोषाध्यक्ष घिमिरेले बताउनुभयो।

“गत वर्षको तुलनामा यस वर्ष केही कम भक्तजन आउनुभएको छ। गुरु बृहस्पति अस्त भएकाले यस समयमा मांगलिक कार्य नगर्ने धार्मिक मान्यताका कारण पनि प्रभाव परेको हुन सक्छ। तर भगवान् शिवको पूजा आराधना गर्न मिल्ने भएकाले भक्तजनहरू आइरहनुभएको छ,” उहाँले भन्नुभयो।

सदियौँदेखि चलिआएको धार्मिक परम्पराअनुसार भक्तजनले आइतबार नै सुनसरीको बराहक्षेत्रस्थित सप्तकोशी नदीबाट जल भरेर सोमबार बिहान पिण्डेश्वर बाबाधाममा ल्याई शिवलिङ्गमा बेलपत्रसहित अर्पण गर्ने गरेका छन्। कतिपय श्रद्धालुले नाङ्गो खुट्टाले पैदल यात्रा गर्दै जल ल्याउने परम्परालाई निरन्तरता दिइरहेका छन्।

सप्तकोशीको जल र बेलपत्र पिण्डेश्वर बाबाधाममा चढाए मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास रहिआएको छ। यही विश्वासका कारण धरानसहित सुनसरी, मोरङ, झापा, उदयपुर तथा देशका विभिन्न जिल्लाबाट हजारौँ भक्तजन बोलबम यात्रामा सहभागी हुने गरेका छन्।

मन्दिरमा विशेषगरी महिलाको उल्लेख्य उपस्थिति रहने गरेको छ। विवाहित महिलाले श्रीमान्को दीर्घायु तथा पारिवारिक सुख–समृद्धिको कामना गर्दै र अविवाहित युवतीले योग्य वर प्राप्तिको कामनासहित शिवलिङ्गमा जल तथा बेलपत्र अर्पण गर्ने परम्परा रहेको छ। साउन महिनामा हरियो चुरा, मेहन्दी तथा हरियो, पहेँलो र रातो पहिरनमा सजिएर शिव मन्दिर जाने चलन पनि रहेको छ।

खनारबाट आउनुभएकी चन्द्रिका चौधरीले सप्तकोशी नदीबाट जल ल्याएर पिण्डेश्वर मन्दिरको शिवलिङ्गमा अर्पण गर्दा मनोकाङ्क्षा पूरा हुने विश्वासका कारण आफू हरेक वर्ष बोलबम यात्रामा सहभागी हुने गरेको बताउनुभयो।

धर्मशास्त्रअनुसार साउन महिना र सोमबार भगवान् शिवका लागि विशेष प्रिय मानिन्छ। वैदिक तथा पौराणिक परम्परामा समेत ऋषिमुनि र देवताले भगवान् महादेवलाई प्रसन्न बनाउन जल, बेलपत्र अर्पण गर्दै पदयात्रा गर्ने गरेको उल्लेख पाइन्छ।

साउनभर पिण्डेश्वर बाबाधाममा दर्शनार्थी तथा बोलबम यात्रुहरूको उल्लेख्य भीड रहने मन्दिर व्यवस्थापन समितिले जनाएको छ। पिण्डेश्वर बाबाधाममा शान्तिपूर्ण रूपमा पूजा भइरहेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक विनालाल शाहले बताउनुभयो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर