सप्तरीमा हानिकारक आँपको बिक्री बढ्दो

काठमाडौं ।  प्राकृतिक रूपमा पाक्ने सिजनभन्दा अगाडिदेखि नै बजारमा अप्राकृतिक रूपमा पाकेका आँप छ्यापछ्याप्ती बिक्री भइरहेका छन्। प्रतिबन्धित वा स्वीकृत रसायन प्रयोग गरेर काँचो आँपलाई अस्वाभाविक तरिकाले पकाएर खुलेआम बिक्री भइरहेको हो। तर, आँपमा कस्तो रसायन प्रयोग भइरहेको छ भन्नेबारे उपभोक्ता, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन र जिल्ला अनुगमन टोली अनभिज्ञ छन्। यस्तो आँप खाँदा स्वास्थ्यका लागि हानिकारक हुन सक्ने भए तापनि नियमनकारी निकाय निष्क्रिय देखिन्छ।

आँपको राजधानी मानिने सप्तरी जिल्लामा यतिवेला मानवीय स्वास्थ्यका लागि हानिकारक क्याल्सियम कार्बाइड हालेको आँप खुलेआम बिक्री भइरहेको छ। जनस्वास्थ्यमा असर गर्ने यस्ता आँपको बिक्रीमा रोक लगाउन नियमनकारी निकायबाट कुनै पहल भएको छैन। कार्बाइड रसायन हालेको आँप खाँदा जनस्वास्थ्यमा गम्भीर असर गर्ने गरेको छ।

असारको दोस्रो सातादेखि स्वाभाविक रूपमा पाक्ने आँपलाई जेठको पहिलो, दोस्रो हप्तादेखि नै क्याल्सियम कार्बाइड प्रयोग गरेर बिक्री गरिरहेको एक आँप व्यापारीले बताउनुभयो। “अन्य रसायनभन्दा क्याल्सियम कार्बाइडले छिटो पकाउने हुँदा यही प्रयोग गर्छौँ,” उहाँले भन्नुभयो। यसरी पकाएको आँप खाँदा मुटु, कलेजो र मस्तिष्कमा समेत असर गर्न सक्ने चिकित्सक दिलीप साहले बताउनुभयो। क्याल्सियम कार्बाइड हालेर पकाएको आँप खाँदा टाउको दुख्ने, चक्कर आउने, वाकवाकी लाग्ने जस्ता स्वास्थ्य समस्या निम्तिन सक्ने उहाँले जानकारी दिनुभयो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर