मधेशमा पहिलो पटक काँडेभ्याकुर चरा फेला
काठमाडौं । मधेश प्रदेशमा पहिलो पटक काँडेभ्याकुर चरा फेला परेको छ । बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–२२ स्थित दुधौरा खोला नजिकको चुरे वन क्षेत्रमा उक्त चरा भेटिएको हो । मिथिला वाइल्ड लाइफ ट्रस्टका अध्यक्ष देवनारायण मण्डलले नेपालमा मात्र पाइने दुर्लभ रैथाने काँडेभ्याकुर चरा मधेश प्रदेश क्षेत्रमा पहिलो पटक भेटिएको दाबी गर्नुभयो ।
उहाँले समुद्री सतहबाट ४४३ मिटर उचाइमा रहेको वन क्षेत्रमा चराविद् हठन चौधरी र सुजन बरालले चरा अवलोकनका क्रममा सो चरा देखेको जानकारी दिनुभयो । उहाँका अनुसार यसअघि कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मात्र यो चराको अभिलेख रहेको थियो । मधेश प्रदेशमा पहिलो पटक यसको उपस्थिति पुष्टि भएको उहाँले जानकारी दिनुभयो ।
प्रतिक्रिया
