बालेन सरकारको प्रभाव : वीर अस्पतालको सेवा चुस्तदुरुस्त
काठमाडौं । वीर अस्पताल (चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान) ले अस्पतालको सेवा प्रवाह र कर्मचारी अनुशासनलाई चुस्त बनाउन १४ बुँदे निर्णयहरू सार्वजनिक गरेको छ। अस्पताल व्यवस्थापन समितिको चैत १६ गते बसेको बैठकले चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको हाजिरी, पोसाक, बिरामीसँगको व्यवहार र औषधि उपलब्धताका विषयमा नयाँ नियमहरू लागू गर्ने निर्णय गरेको अस्पताल निर्देशक डा. दिलिप शर्माले जानकारी दिए।
अस्पतालले सार्वजनिक गरेको निर्णयअनुसार अब चिकित्सक तथा कर्मचारीहरू तोकिएको समयमा अनिवार्य उपस्थित हुनुपर्नेछ। बिहान ९:०० देखि बेलुका ५:०० बजेसम्मको कार्यालय समयमा ढिलो आएमा वा विना सूचना अनुपस्थित भएमा मन्त्रालयसम्म रिपोर्ट गरिने र नियमअनुसार कारबाही गरिनेछ। विशेषगरी बिहान ९:३० बजेपछि आउने र साढे ४ बजेभन्दा अगाडि निस्कने कर्मचारीलाई ‘गयल’ मानिने र आधा दिनको बिदा काटिने कडा व्यवस्था गरिएको छ।
अस्पतालले सेवाग्राहीसँगको व्यवहारमा पनि परिवर्तन ल्याउन ‘मुस्कानसहितको सेवा’ अनिवार्य गरेको छ। रुखो व्यवहार गर्ने र कार्यशैली नसुधार्ने कर्मचारीलाई कारबाहीको चेतावनी दिइएको छ। यस्तै, चिकित्सकहरूले बिरामीको पुर्जा, डिस्चार्ज समरी र रिपोर्टहरूमा आफ्नो नाम, एनएमसी नम्बर र हस्ताक्षर प्रष्ट बुझिने गरी लेख्नुपर्ने नियम बनाइएको छ। अस्पतालभित्र एप्रोन र परिचयपत्र पनि अनिवार्य गरिएको छ।
अस्पतालका कर्मचारीहरू प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सतर्कता केन्द्रको समेत निरन्तर निगरानीमा रहने र कार्यक्षेत्रमा नभेटिएमा स्वयं जिम्मेवार हुनुपर्ने निर्णयमा उल्लेख छ।
अस्पताल व्यवस्थापन समितिका १४ बुँदे मुख्य निर्णयहरू:
१. शासकीय सुधार: मन्त्रिपरिषद्को ‘शासकीय सुधारको मार्गचित्र’ अनुसार स्वास्थ्य क्षेत्रको सुधारका लागि आवश्यक निर्देशनहरू कार्यान्वयन गर्ने।
२. अनिवार्य उपस्थिति: चिकित्सक र कर्मचारीहरू समयमै उपस्थित हुनुपर्ने र गयल भएमा नियमानुसार कारबाहीको सिफारिस गरिने।
३. प्रष्ट कागजात: बिरामीको पुर्जा, रिपोर्ट र डिस्चार्ज समरीमा नाम, एनएमसी नम्बर र हस्ताक्षर प्रष्ट हुनुपर्ने।
४. पोसाक र परिचयपत्र: स्वास्थ्यकर्मी, नर्स र डाक्टरले एप्रोन र परिचयपत्र अनिवार्य लगाउनुपर्ने।
५. सरसफाइ अडिट: अस्पतालको सरसफाइ निगरानीका लागि संगिता श्रेष्ठको संयोजकत्वमा समिति गठन।
६. हाजिरी अडिट: कर्मचारीको उपस्थितिको नियमित अडिट गर्न डा. मीन चन्द्र अधिकारीको संयोजकत्वमा समिति गठन।
७. सार्वजनिक बिदा: वि.सं. २०८३ को सार्वजनिक बिदाको सूची गृह मन्त्रालयको निर्णयअनुसार कार्यकारी परिषद्मा पेश गर्ने।
८. कार्यालय समय: २०८३ वैशाख १ देखि बिहान ९ देखि ५ बजेसम्म (जाडोमा ९ देखि ४ बजेसम्म) को समय निर्धारण।
९. प्रोत्साहन भत्ता: ओटी, क्याथ ल्याब र इभिनिङ राउन्डमा खटिनेलाई कार्यसम्पादनमा आधारित प्रोत्साहन भत्ता (Incentive) दिने।
१०. फार्मेसी सुधार: फार्मेसीमा औषधिको मौज्दात र उपलब्धताको जानकारी सेवाग्राहीलाई छिटोछरितो दिने।
११. ढिलाइमा कडाइ: बिहान ९:३० बजेपछि आउनेलाई गयल मानिने र आधा दिन बिदा काटिने, ढिलो भएमा निर्देशकको ह्वाट्सएप ग्रुपमा जानकारी दिनुपर्ने।
१२. ड्युटी रोस्टर: सबै कर्मचारीको ड्युटी रोस्टर भाइबर ग्रुपमा अपडेट हुनुपर्ने र खटाएको ठाउँमा नभेटिए मन्त्रालयमा रिपोर्ट गरिने।
१३. निरन्तर निगरानी: कर्मचारीहरू उच्च निकाय र सतर्कता केन्द्रको निगरानीमा रहने, कार्यक्षेत्र छोडेर अन्यत्र भेटिए आफैँ सजायको भागीदार हुनुपर्ने।
१४. शिष्ट व्यवहार: सेवाग्राहीसँग शिष्ट, सभ्य र मुस्कानसहितको व्यवहार गर्नुपर्ने। रुखो व्यवहार र लापरवाह कार्यशैली पूर्ण रूपमा बन्द गर्नुपर्ने।
