श्वेत मत्स्येन्द्रनाथको रथयात्रा, राष्ट्रपति शरीक
काठमाडौं । चैत्र शुक्ल अष्टमीका अवसरमा वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा सुरु भएको छ। बिहीबार दरबारमार्गस्थित तीनधारा पाठशालाबाट सुरु गरिएको रथयात्रा पहिलो दिन असनसम्म पुर्याइएको हो।
रथ असन पुगेपछि राति करिब १० बजे राष्ट्रपति रामचन्द्र पौडेलले त्यहाँ पुगेर सेतो मच्छेन्द्रनाथको पूजा आराधना तथा दर्शन गर्दै प्रसाद ग्रहण गरेका छन्। असनमा रथ पुगेको रात राष्ट्राध्यक्षले दर्शन गर्ने परम्परा रहँदै आएको छ।

तीनधारा पाठशालाअघि निर्माण गरिएको करिब ३२ हात लामो रथ नागराजको प्रतीकका रूपमा मानिन्छ। धार्मिक विश्वासअनुसार यो जात्राले वर्षा र सहकाल ल्याउने मान्यता रहेको छ। रथलाई असनबाट वसन्तपुर, त्यसपछि जैसीदेवल हुँदै लगनसम्म पुर्याइन्छ र अन्त्यमा मच्छेन्द्रबहालमा ल्याएर जात्रा सम्पन्न गरिन्छ।

रथयात्रा तीन दिनसम्म चल्ने परम्परा छ। असन, वसन्तपुर, जैसीदेवल र लगन हुँदै हुने यात्रामा हजारौँ भक्तजनको सहभागिता रहने गर्दछ। रथ निर्माणका लागि आवश्यक काठलगायत सामग्री गुठी संस्थानले व्यवस्था गर्ने परम्परा रहेको छ।
यस अवसरमा कुमारीलाई पनि तीनधारा पाठशाला परिसरमा लगेर रथयात्रा सुरु गरिएको आयोजक समितिले जनाएको छ। सेतो मच्छेन्द्रनाथको रथयात्रा सम्पन्न भएपछि ललितपुरमा रातो मच्छेन्द्रनाथको रथयात्रा सुरु हुने परम्परा रहेको छ।
