हरिबोधिनी एकादशीको अवसरमा पशुपतिमा तोरण

काठमाडौं । आज कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशी पर्व मनाइँदै छ । सनातन धर्मावलम्बीले आजका दिन तुलसीको विशेष पूजापाठ गरेर हरिबोधिनी एकादशी मनाउँछन्।

हरिशयनी एकादशीका दिन रोपिएको तुलसीको आज विवाह गरी मनाइने धार्मिक प्रचलन छ। हरिबोधिनीका दिन विष्णु भगवानको पूजा अर्चनासहित तुलसी विवाह गरिदिने चलन छ । हरिबोधिनी एकादशीलाई वर्षभरमा पर्ने चौबिसवटा एकादशीमध्ये सबैभन्दा महत्त्वपूर्ण एकादशीको रुपमा लिइन्छ । यसलाई ठूलो एकादशी पनि भनिन्छ। हरिबोधिनी एकादशीको अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रमा बिहानैदेखि भक्तजनले तोरण टाँगेर पूजापाठ गरेका छन्।

नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो

यसैबीच हरिबोधिनी एकादशीका अवसरमा देशका विभिन्न भागमा अवस्थित नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ। काठमाडौँ उपत्यकाका चार नारायण, भक्तपुरको चाँगुनारायण, ललितपुरको विशङ्खुनारायण, काठमाडौँका शेष नारायण र इचङ्गुनारायणस्थानका साथै काठमाडौँ उपत्यका र बाहिरका अन्य साना ठूला नारायण मन्दिरमा पनि भक्तजनको घुइँचो बढेको हो। यी मन्दिरमा आज विशेष मेला लागेको छ। साथै नागार्जुन नगरपालिका– ७ रामकोटस्थित बद्रीनारायण धाममा पनि मेला लागेको छ। यसैगरी तनहुँको व्यास नगरपालिका–९ स्थित सिद्धेश्वर राजापानी महादेव मन्दिरमा एकादशी मेला लागेको छ।

काठमाडौँ उपत्यकाका चार नारायणस्थानमा जान नसक्नेले काठमाडौँको उत्तरमा रहेका बूढानीलकण्ठ नारायणस्थान र नारायणहिटीस्थित चातुव्र्युह नारायण मन्दिरको दर्शन गर्दा चार नारायणको दर्शन एवं पूजा गरे बराबरको फल पाइने विश्वास गरिन्छ। यी दुवै मन्दिर शेषशायी भगवान् नारायण विराजमान हुनुहुन्छ।

बूढानीलकण्ठको नारायणस्थानमा ठूलो ढुङ्गामा निर्मित हर र हरि भगवान्को यस्तो मूर्ति विश्वमा अन्यत्र कतै नभएको बताइन्छ। वर्षमा एक दिन धेरै दर्शनार्थीले पूजा गर्न आउने गरेकाले दक्षिणकालीको शेषनारायण मन्दिरमा विशेष व्यवस्था गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ। यसैगरी, बूढानीलकण्ठ नारायणस्थानमा पनि आजदेखि कार्तिक शुक्ल पूर्णिमाका दिनसम्म विशेष मेला लागेको छ।

प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिन भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछ। आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँझिने भएकाले आजको दिनलाई हरिबोधिनी एकादशी भनिन्छ।

हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज दामोादरसँग तुलसीको विवाह गर्ने प्रचलन छ। तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको दामोदरसँग विवाह गर्ने परम्परा बसेको हो। तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रुपमा निगालाका लिङ्ग गाडेर विधिपूर्वक पूजा गरिन्छ। कार्तिक महिनाभर सबै देव देवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर