हिमाल संरक्षणमा दिगो पहलका लागि आवश्यक बहसको सुरुवात

काठमाडौं । सर्वोच्च शिखर सगरमाथासहित हिमालहरू संरक्षणमा दिगो पहलका लागि आवश्यक बहसको सुरुवातसँगै नेपाल सरकारले विश्वव्यापी मञ्चका रूपमा आयोजना गरेको सगरमाथा संवाद शुक्रबारदेखि काठमाडौंमा सुरु भएको छ ।
विश्वका विभिन्न मुलुकका विशिष्ट पाहुनाहरूको आगमनसहित प्रधानमन्त्री केपी शर्मा ओलीले भव्य समारोहकाबिच सगरमाथा संवादको उद्घाटन गरे । उद्घाटन समारोहमा प्रधानमन्त्री ओलीले सगरमाथासहित नेपालका हिमाल विश्व वातावरणको मानक रहेकाले संरक्षणमा हातेमालो गर्न आह्वान गरे । देशहरूबिच आफ्नै असमानता तथा बहुपक्षीय र क्षेत्रीय सहकार्यका दुरी भए पनि हिमाल संरक्षणका लागि एउटै आवाज बनाउनका लागि यस संवादको पहिलो संस्करणले प्रयास गरेको प्रधानमन्त्री ओलीले प्रस्ट पारे । उनले भने, “नेपाल भूगोलको कुनै टुक्रा मात्र होइन, यो बुद्धको शान्ति भूमि हो, ज्ञानको भूमि हो, अनि सगरमाथा संवाद हाम्रा प्राचीन अभ्यासहरूको स्मरण हो ।”
उनले सगरमाथा संवादको पहिलो संस्करणमा जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य विषयमा विश्वव्यापी बहस मुटुभित्रबाट सुरुवात गरिएको इमानदार बहस भएको औँल्र्या र भने, सगरमाथा संवाद नेपालकोे मात्र नभएर विश्वकै बहस स्थल भएको छ ।
परराष्ट्रमन्त्री डा. आरजु राणाले जलवायु परिवर्तनले मानवताको भाग्य मात्र होइन, भविष्य नै खतरामा पार्दै गएको औँल्याइन् । उद्घाटन सत्रमा स्वागत मन्तव्य दिँदै उनले भनिन्, “जलवायु परिवर्तन अब कुनै क्षेत्र र देश विशेषको नभएर विश्वकै समस्या भएको छ, यसले सिङ्गो मानवतालाई नै सङ्कटमा पार्दै गएको छ ।”
सो विश्वव्यापी सङ्कटसँग जुध्नका लागि कुनै पनि देशको आफ्नो एक्लो प्रयास पर्याप्त नभएकाले संयुक्त र सामूहिक प्रयासका साथ अघि बढ्नुपर्ने खाँचो रहेकामा उनले जोड दिइन् ।
चिनियाँ राष्ट्रिय जनकङ्ग्रेसको स्थायी समितिका उपाध्यक्ष सियाओ चीले सगरमाथा विश्वकै उच्च शिखर भएको औँल्याउँदै नेपालले आयोजना गरेको संवादमार्फत बहसका लागि चीन सरकारको बलियो साथसहित प्रतिबद्धता जनाए । प्रधानमन्त्री ओलीको सरकारले लिएको यस पहलका लागि चीन सरकारकातर्फबाट उनको सराहना गरे । उनले भने, “सगरमाथा क्षेत्र नेपाल चीन मित्रताको महìवपूर्ण साक्षीका रूपमा रहेको छ, यसको संरक्षणमा संयुक्त रूपमा काम गरिरहेका छौँ ।”
उनले नेपालको हिमाल संरक्षणका लागि चीन सरकारले विभिन्न परियोजनासँगै हिमालय क्षेत्रको वैज्ञानिक अध्ययन र अन्य परियोजनामा सहकार्य जारी राखेको प्रस्ट पारे । उनले सगरमाथा र यसका जैविक विविधता संरक्षणका लागि समुदायलाई सचेतनासहितको साझेदारीयुक्त कार्यव्रmम जरुरी रहेको औँल्याउँदै यी क्षेत्रमा बहुउपयोगी मौसमी पूर्वाधारको विकास र पानीको प्रयोगका लागि सामूहिक परियोजनाहरू लागु गर्नुपर्नेमा जोड दिए ।
भारतका वन तथा जलवायुमन्त्री भुपेन्दर यादवले विश्वकै सर्वोच्च शिखर भएको देशमा भएको सगरमाथा संवाद विश्वकै लागि महìवपूर्ण रहेको बताए । उनले भने, “हाम्रो वातावरणीय भविष्य हिमालसँग प्रत्यक्ष जोडिएको छ । हाम्रो भविष्य साझा प्रतिबद्धता र सामूहिक कार्यमा जोडिएको छ ।” विश्वका शक्तिशाली मुलुकले कार्बन उत्सर्जन गरेबापत दिने भनेको कार्बन वित्तलाई अहिले बेवास्ता गरिएको आरोप उनले लगाए । जलवायु परिवर्तनका चुनौती थेग्न साझा सहकार्यसँगै सामुदायिक कार्यमा जानु जरुरी रहेको उल्लेख गर्दै उनले विश्व एक परिवारका रूपमा हेर्दै छिमेकी मुलुकका रूपमा भारत र नेपाल दुवैले हिमाली मुलुकसँग निकट रहेर काम गर्न जरुरी रहेको बताए ।
उद्घाटनका अवसरमा नेपाल सरकारले जलवायु परिवर्तनका लागि राष्ट्रिय योगदानमा आधारित तेस्रो कार्ययोजना सार्वजनिक गरेको थियो । विभिन्न मुलुकका विशिष्ट पाहुनासहित १७५ जना विदेशी र त्यति नै नेपालीसहित ३५० जनाको प्रत्यक्ष सहभागिता सम्मेलनमा छ ।