सगरमाथा संवादको पहिलो संस्करण आज सुरु हुँदै

काठमाडौं । सरकारले आयोजना गरेको सगरमाथा संवादको पहिलो संस्करण काठमाडौंमा आज (शुक्रबार) बाट सुरु हुँदैछ । तीन दिनसम्म काठमाडौंमा होटेल सोल्टी क्राउन प्लाजामा चल्ने सगरमाथा संवादको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् । उद्घाटन समारोह शुक्रबार बिहान साढे ९ बजेदेखि ११ बजेसम्म हुनेछ ।
सगरमाथा संवादमा स्वदेशी तथा विदेशी गरी ३५० जना पाहुना सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले सम्बोधन गर्नेछन् । उद्घाटन कार्यक्रममा परराष्ट्रमन्त्री आरजु राणा देउवाले स्वागत मन्तव्य दिनेछिन् ।
कार्यक्रममा संवादसम्बन्धी तयार पारिएको एक चिनारीयुक्त भिडियो प्रस्तुत गरिने, चीन र भारतका तर्फबाट प्रतिनिधिमण्डलहरूको नेतृत्व गरेर आउने विशिष्ट पाहुनाहरू र कोप–२९ का अध्यक्ष तथा अजरबैजानी राष्ट्रपतिका जलवायु विषयसम्बन्धी प्रतिनिधिले सम्बोधन गर्नेछन् ।
उद्घाटन कार्यक्रममा सगरमाथा संवादलाई सम्बोधन गरी संयुक्त राष्ट्रसंघका महासचिवले पठाएको भिडियो सन्देश पनि प्रस्तुत गरेपछि उद्घाटन कार्यक्रम सकिनेछ । केही दिनअघि परराष्ट्रमन्त्री आरजु राणा देउवाले पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार अन्तर्राष्ट्रिय सम्मेलनको प्रारूपमा सगरमाथा संवाद आयोजना गरिनेछ । सगरमाथा संवादको थिम ‘जलवायु परिवर्तन, हिमाल र मानव जातिको भविष्य’ रहेको छ । संवादको थिममा केन्द्रित रही आफ्ना धारणा वा विचारहरू व्यक्त गरिनेछ ।
तीन दिनसम्म चल्ने सगरमाथा संवादमा १२ वटा सत्र राखिएको छ । संवादमा सहभागी हुने सबै राष्ट्र र अन्तर्राष्ट्रिय एवं क्षेत्रीय संगठनले यस सत्रमा बोल्ने अवसर पाउनेछन् । “हालसम्म यस सूचीमा २३ प्रतिनिधिमण्डल समावेश गरिएको छ । प्रत्येक प्रतिनिधिमण्डललाई पाँच मिनेटको बोल्ने समय प्राप्त हुनेछ,” परराष्ट्रमन्त्री राणाले पत्रकार सम्मेलनमा भनेकी थिइन् ।
सगरमाथा संवादको पहिलो संस्करणको थिमअन्तर्गत तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसभन्दा कममा सीमित गर्ने, पर्वतीय अर्थतन्त्रलाई दिगो बनाउने, हानि र क्षति, उच्च भूभागहरूलाई टापुहरूसँग जोड्ने, खाद्य सुरक्षा तथा जलवायु प्रतिरोधी कृषि, समुदायको नेतृत्वमा पहलहरू, भविष्यलाई सशक्त बनाउन स्वच्छ ऊर्जाको उपयोग, पहाडको जोखिम मूल्यांकन तथा अनुगमन, दिगो सहरहरू र समुदाय, समावेशी भविष्य निर्माण गर्ने, लैंगिक तथा अन्तरपुस्ता समानता, जलवायु प्रेरित प्रकोपहरू, जोखिम न्यूनीकरणलगायत विषयमा छलफल हुनेछ ।
राजनीतिज्ञ, नीति निर्माता, विद्वान, विज्ञ एवं विषय ज्ञाता र अनुसन्धानकर्ताहरूको गहन ढंगको छलफल एवं विचार आदान–प्रदान र विश्लेषणका माध्यमबाट जलवायु परिवर्तन र पर्वतीय समस्या समाधान र सम्भावनामा जोड दिइने कार्यक्रम छ ।
डेढ घण्टासम्म चल्ने प्रत्येक सेसनमा एकजना मोडरेटर, एकजना प्रमुख वक्ता र चारजना प्यानलिस्ट रहनेछन् ।सगरमाथा संवादमा ‘मल्टिस्टेकहोल्डर राउन्डटेवल अन्डर ग्लोबल एन्ड रिजनल पार्टनरसिप’ कार्यक्रम पनि गरिनेछ । यस कार्यक्रममा विभिन्न विशिष्ट व्यक्तित्वहरूले भाग लिनेछन् । यस कार्यकमको मुख्य उद्देश्य जलवायु र पर्वतीय मुद्दामा क्षेत्रीय र अन्तर्राष्ट्रिय सहयोगका विषयमा छलफल गर्नु रहेको छ । तेस्रो दिन अर्थात् जेठ ४ गते सगरमाथा संवादको समापन गरिनेछ । परराष्ट्रमन्त्री राणाका अनुसार, ‘काठमाडौं घोषणापत्र’ जारी गर्दै सगरमाथा संवाद सम्पन्न भएको घोषणा गरिनेछ ।
सगरमाथा संवादको साइडलाइनमा अन्य ६ वटा कार्यक्रम गरिने परराष्ट्रमन्त्री राणाले बताएकी छन् । जसअनुसार संगरमाथा संवादमा सहभागी हुन आउने उच्चस्तरीय पाहुनालाई सगरमाथा क्षेत्रमा माउन्टेन फ्लाइट गराइनेछ, हिन्दु कुश हिमालय क्षेत्रका देशको मन्त्रीस्तरीय बैठक, वायु प्रदूषण, पेरिस सम्झौतासम्बन्धी कार्यक्रम, नेपालको अर्गानिक चिया चाख्ने, बज्र इको–स्कुलको भ्रमण कार्यक्रम गरिनेछ ।
सगरमाथा संवादमा करिब १७५ जना विदेशी पाहुना सहभागी हुनेछन् । करिब त्यतिकै संख्यामा नेपाली सहभागी गरी करिब ३५० जना सहभागीहरूले भाग लिने परराष्ट्र मन्त्रालयको भनाइ छ । यसमा १२ देशबाट उच्च तहबाट प्रतिनिधिमण्डल सहभागी हुनेछन् । संवादमा ६१ देशका अन्तर्राष्ट्रिय संघसंस्था पनि सहभागी हुनेछन् ।
सगरमाथा सवादमा चीनबाट १४ औं राष्ट्रिय जनकांग्रेस (एनपीसी)का स्थायी कमिटी उपाध्यक्ष सियाओ जी सहभागी हुनेछन् । उनी चीनका पूर्वस्टेटा काउन्सिलर र पूर्वअर्थमन्त्री पनि हुन् । भारतबाट वातावरण, वन तथा जलवायु परिवर्तनमन्त्री भूपेन्द्र यादवको नेतृत्वमा एक प्रतिनिधिमण्डल सगरमाथा संवादमा सहभागी हुनेछ ।अजरबैजानबाट कोप २९ का अध्यक्षसमेत रहेका पर्यावरण तथा प्राकृतिक स्रोतमन्त्री मुख्तार बाबायेभको नेतृत्वको प्रतिनिधिमण्डल सगरमाथा संवादमा सहभागी हुनेछ ।
बंगलादेशबाट समाज कल्याण मन्त्रालय र महिला तथा बालबालिका मन्त्रालयकी सल्लाहकार शर्मीन सोनेया मुर्शिद सगरमाथा संवादमा सहभागी हुनेछिन् । भुटानबाट उर्जा तथा प्राकृतिक स्रोतमन्त्री जेम छेरिङको नेतृत्वमा एक प्रतिनिधिमण्डलले सगरमाथा संवादमा सहभागिता जनाउनेछ ।
माल्दिभ्सका पर्यटन तथा वातावरण मन्त्री थोरिक इब्राहिम, जापानबाट उप–विदेशमन्त्री इकुइना अकिको, युनाइटेड अरब इमिरेट्सबाट उर्जा तथा दिगोपन सहायक विदेशमन्त्री अब्दुल्ला बालाला, बेलायतबाट उप–विदेशमन्त्री ब्यारोनेस सुसान हेमन र कतारबाट विशेषदूत तथा जलवायु परिवतन सम्बन्धी उप–विदेशमन्त्री बहर उमर अल दाफा सगरमाथा संवादमा सहभागी हुनेछन् ।
परराष्ट्रमन्त्री राणाका अनुसार किर्गिजस्तानबाट पर्वतीय क्षेत्र विकासका लागि पाँच वर्षको कार्ययोजना कार्यान्वयनका लागि राष्ट्रपतिका विशेष प्रतिनिधि दिनारा केमेलोभा, ओमानबाट राजदूत इस्सा बिन सालेह अल शिबानी, ब्राजिलबाट कार्लोस अल्बर्टो, इजिप्टबाट राजदूत नोहा हम्दी अहमद एलगेबाली, सार्कका महासचिव मोहम्मद गोलम सरवर सगरमाथा संवादमा सहभागी हुनेछन् ।
बिमस्टेकका महासचिव इन्द्रामणि पाण्डे, संयुक्त राष्ट्रसंघ (यूएनसीआर नेपाल)को तर्फबाट हाना सिंगर हम्दी, विश्व बैंकका दक्षिण एसिया क्षेत्रिय उपाध्यक्ष मार्टिन रायसर र एसियाली विकास बैंक (एडीबी)का क्षेत्रिय उपाध्यक्ष फातिमा यास्मिन सगरमाथा संवादमा सहभागी हुने बताइएको छ । “सगरमाथा संवादमार्फत नेपाललाई तटस्थ, संवादप्रेमी कूटनीतिको नेतृत्वदायी भूमिकामा स्थापित गर्न सकिन्छ भन्ने हाम्रो दृढ विस्वास रहेको छ,” परराष्ट्रमन्त्री राणाले भनेकी छन् ।