सहमतिसँगै शिक्षक हडताल समाप्त, भोलिदेखि स्कुल खोलिने

काठमाडौं । सरकार र शिक्षक महासङ्घबीच हिजो बुधबार नौ बुँदे सहमति भएको छ । सरकारका तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त र शिक्षक महासङ्घका प्रतिनिधिबीच हिजो भएको वार्तापछि नौ बुँदे सहमति भएको हो ।
महासंघसँग भएको सहमतिलाई मन्त्रिपरिषदको बैठकले अनुमोदनसहित निर्णय गरेको छ। मन्त्रिपरिषदको बैठकले माग पूरा गर्ने निर्णय गरेसँगै भोलिदेखि शिक्षक महासङ्घले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएर विद्यालय सञ्चालनको गर्ने सहमति भएको छ ।
सहमतिपछि आयोजित पत्रकार सम्मेलनमा शिक्षामन्त्री पन्तले मन्त्रिपरिषद् बैठकले मागहरु अनुमोदन गरेको जानकारी दिए । पत्रकार सम्मेलनमा नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले शिक्षकमा तत्काल पूरा हुन सक्ने माग मन्त्रिपरिषदले पूरा गरेको र कानूनसँग जोडिएको माग २०८२ असार १५ गतेभित्र शिक्षा ऐनमार्फत पूरा गर्ने सहमति भएको जानकारी दिए । अध्यक्ष सुवेदीले भोलिदेखि नै सबै शैक्षिक क्रियाकलाप सुचारु गरिने बताए ।