जनकपुरमा विवाहपञ्चमी महोत्सव सुरु, मदिरा र माछामासु बिक्रीमा रोक

काठमाडौं । जनकपुरधाममा सप्ताहव्यापी रुपमा मनाइने सीताराम विवाहपञ्चमी महोत्सव आजदेखि विधिवत् रुपमा सुरु भएको छ । त्रेतायुगमा भगवान् राम एवम् जानकीको वैदिक विवाह प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा भएको सम्झनामा हरेक वर्ष मङ्सिर शुक्ल पञ्चमी तिथिको दिन पौराणिक विधिअनुरुप मनाइँदै आएको छ ।

सप्ताहव्यापी रामजानकी विवाह महामहोत्सवको पहिलो दिन आज नगरदर्शन भइरहेको छ । गोस्वामी तुलसी दासकृत रामायणमा वर्णित भएनुसार मिथिला नरेश राजर्षि जनकद्वारा गरिएको प्रतिज्ञालाई अयोध्याका राजकुमार मर्यादा पुरुषोत्तम भगवान् रामले धनुष तोडेर पूरा गरेकाले जानकीको विवाह उहाँसँग भएको थियो ।

यसपालि मङ्सिर २६ गतेदेखि पुस २ गतेसम्म सप्ताहव्यापीरुपमा मनाइने श्रीरामजानकी विवाह महोत्सवका लागि स्वागतद्वार, पण्डाल निर्माण तथा विवाह सामग्री किनमेल गरिएको जानकी मन्दिरका सहायक महन्थ रामरोशन दासले बताए ।

अयोध्या नरेश दशरथको भूमिकामा जनकपुरधामस्थित राम मन्दिरका महन्थ राम गिरीको नेतृत्वमा पौराणिक व्यवस्थाअनुरुप बिहेको जन्ती बाजागाजा र स्वर्णिम झाँकीसहित भगवान् रामको प्रतिमालाई विशेष सिंहासनमा राखी रङ्गभूमि मैदानमा पुर्‍याइन्छ । यस्तै जानकी मन्दिरबाट मिथिला नरेश जनकको भूमिकामा जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवको नेतृत्वमा जानकीको प्रतिमालाई विशेष सुसज्जित डोलामा राखी सोही रङ्गभूमि मैदानमा पुर्‍याइन्छ ।

भगवान् रामको स्वर्णिम डोलालाई जानकीको विशेष सुसज्जित डोलाले पाँचपटक परिक्रमा एवम् आरती पूजन गरेपछि स्वयंवर कार्यक्रम सम्पन्न हुने धार्मिक परम्परा रहिआएको छ । भगवान् राम र सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष सप्ताहव्यापी रुपमा विवाहपञ्चमी महोत्सव मनाइन्छ ।

विवाहपञ्चमी महोत्सवको पहिलो दिन आज जानकी मन्दिर प्राङ्गणमा बालबालिकालाई राम र लक्ष्मणको स्वरुप बनाई घुमाएर नगर दर्शन गराइएको छ । यस्तै, दोस्रो दिन बुधबार फूलबारी लीला, तेस्रो दिन बिहीबार धनुष यज्ञ, चौथो दिन शुक्रबार तीलकोत्सव, पाँचौँ दिन मङ्सिर ३० गते मटकोर र पुस १ गते रामसीता स्वयंवर तथा विवाह कार्यक्रम हुनेछ ।

महोत्सवको अन्तिम दिन आगामी पुस २ गते रामकलेवा गरी अयोध्याबाट जन्तीका रुपमा आएका साधुसन्तको बिदाइ गरेपछि विवाहपञ्चमी महोत्सव विधिवत् समापन हुनेछ । विवाहपञ्चमी महोत्सवमा यस वर्ष ऐतिहासिक रङ्गभूमि मैदानमा सीतारामको प्रतिमा निर्माण गर्न लागिएको जनकपुर बृहत्तर क्षेत्र विकास कोषका अध्यक्ष शीतल साहले बताए । मूर्ति बनाउन अन्नको मात्र प्रयोग गरिने छ ।

यसैबीच विवाहपञ्चमी महोत्सवको अवसरमा तीन दिनसम्म मदिरा तथा माछा/मासु बिक्री वितरणमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाले आज एक सूचना जारी गर्दै मङ्सिर २८ गते राति १२ बजेदेखि पुस १ गते राति १२ बजेसम्म मदिरा तथा माछा/मासुको बिक्री वितरणमा रोक लगाएको हो ।

सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवलाई सुरक्षित, मर्यादित र सौहार्दपूर्ण वातावरणमा मनाउनका लागि जिल्ला सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको प्रशासकीय अधिकृत विश्वविजय शर्माले जानकारी दिए ।

यस अवधिमा जनकपुरधामको परिक्रमा क्षेत्रभित्र र परिक्रमा सडकको दायाँबायाँ मदिरा बिक्री वितरण, सेवन तथा पशुपक्षी काट्न, माछा, मासु बिक्री वितरण, ओसारपसार गर्न निषेध गरिएको प्रमुख जिल्ला अधिकारी चक्रपानी पाण्डेले बताए । निर्देशकको पालना नगरे प्रचलित कानुन बमोजिम कारबाही हुने जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर