विदेशलाई कर्मभूमि बनाएर नेवा कला, संस्कृतिको उत्थानमा अध्यक्ष प्रजापति….

नेपाली युवाहरुको आकर्षणको केन्द्र विदेश बनिरहको सबैमाझ जानकारी नै छ । यसरी विदेशलाई कर्मभूमि बनाएर सफलता हात पार्नेहरुको संख्या सोचअनुरूप देखिँदैन । विदेशमा रहेर नेपाली कला संस्कृतिको संवर्धन र प्रर्वधन झनै जटिल विषय हो । यस्तै एक नेपाली युवा जसले यूकेलाई आफ्नो कर्म थलो बनाउँदै त्यहाँ नेवारी कला संस्कृतिको जानकारी दिने उद्देश्यका साथ विभिन्न गतिविधिहरुलाई निरन्तरता दिँदै आएका छन् । यूकेमा आफ्नो व्यापार व्यवसायसँगै विभिन्न संस्थामा आवद्धता जनाएर नेवारी कला संस्कृतिको संवर्धन र प्रवर्धनमा क्रियाशील रहेका युवा पासा पुचः गुथी यूकेका अध्यक्ष सुशील प्रजापति नेपालमा आएको बेला उनीसँग रफतन्यूज डटकम गरेको कुराकानीको सारसंक्षेप :

नेपाल आउनु भएको छ दिनहरु कसरी बितिरहेका छन् ?

प्रजापति : नेपालमा आएको समयमा विभिन्न अवसरलाई छोप्ने काम भइरहेको छ । विभिन्न क्षेत्रका व्यक्तित्वहरुसँगको भेटघाटसँगै पारिवारिक वातावरणमै समयको उपयोग भइरहेकोछ ।

यूकेमा के गर्नु हुन्छ र कसरी समय व्यवस्थापन गरिरहनु भएको छ ?

प्रजापति : विशेषतः आफ्नो रेष्टुरेन्ट व्यवसायलाई प्रमुखताका साथ सञ्चालन गरिरहेको छु । योसँगै नेवारहरुको रहनसहन, कला, संस्कृतिलाई पासा पुचः गुथीमार्फत संरक्षण र प्रवर्धन गर्नुका साथै भावी पुस्ताहरुलाई संस्कृतिका विविध आयामहरू हस्तान्तरण गर्ने काम गरिरहेको छुँ ।

तपाइँ होटल म्यानेजमेन्टको विद्यार्थी भएकोले नै हस्पिटालिटी (अतिथि सत्कार) व्यवसायमा जम्न सफलता मिलेको हो ?

प्रजापति : होटेल म्यानेजमेन्ट अध्ययनले मेरो कर्म क्षेत्रका लागि अति उपयोगी बनेको अवश्य नै हो । अनुभव सबैभन्दा महत्वपूर्ण आधार हो । हरेक क्षेत्रका लागि अध्ययननै सर्वोपरी होइन जस्तो मलाई लाग्छ । हरेक क्षेत्रमा अनुभवलाई प्राथामिकता दिने हो भने असफलता भन्ने भोग्नु पर्दैन जस्तो लाग्छ । मेरो कर्म क्षेत्रलाई सबै क्षेत्रको सहयोग र कर्मले नै होला सामान्यतयाः सफलता मिलेको छ।

युवाहरुको रोजाईको देश यूके पर्छ त्यहाँ कस्तो छ नेपालीका लागि  ?

प्रजापति :  हरेक मान्छेले सबैभन्दा पहिला आफ्नो उद्देश्य के हो ? त्यसको पहिचान गरेर मात्र विदेशको यात्रालाई तय गर्नुपर्छ । आफू सक्षम हुनुका साथै लगाव भएको क्षेत्र र वातावरण बुझेर मात्रै विदेशको यात्रा तय गर्नुपर्छ । भावानामा बहकेर वा लहलहमै लागेर धन कमाउने सपना देखर यूके आउँदै हुनुहुन्छ भने त्यस्तो भ्रममा नपरौं । यूकेमा समयको मागलाई बुझेर मात्र आउने चाँचोपाँचो मिलाऔं । नत्र अलपत्र पर्न सकिन्छ । विगतमा भन्दा पछिल्लो समयमा यूकेमा बसोबास गर्न सराकारले अध्यागमनको क्षेत्रलाई कडा गरेको छ ।

यूकेमा रहेर नेवारी कला, संस्कृतिको संरक्षण र प्रवर्धन कसरी गरिरहनु भएको छ ?

प्रजापति :  यस क्षेत्रमा बसोबास गर्ने नेपाली नेवारहरुको एक छाता संगठन पासा पुचः गुथीमा आवद्ध भएर नेवा बाजा, कला , नाच , पाक कला, परम्परा, जात्रालगायतका गतिविधिहरु गुथीका ६ वटा शाखाहरु रहेका छन् यीनै मार्फत सक्दो संरक्षण प्रवर्धन गर्ने जमर्को गरेको छु। झन्डै एक वर्षमा २०–२५ वटा विभिन्न यो क्षेत्रसँग सम्बन्ध रहेर कार्यक्रम सञ्चालन गर्ने गरेका छौं । हाल धिमे बाजा, धा बाजा , कुमारी नाच , मञ्जुश्री नाच , बज्रयोगिनी नाच , भैरव नाचको प्रशिक्षण चलिरहेको छ भने यसको अलावा गुथी भोज, योमरी पुन्ही , म्ह पूजा, गुथी, सेमिनारलगायतका वार्षिक कार्यक्रमहरु सञ्चालन गरिरहेका छौं ।

कस्ता खालका समस्या झेल्नुपर्छ यस्ता सांस्कृतिक गतिविधि गर्दा ?

प्रजापति :  हरेक क्षेत्रको सबैभन्दा पहिलो आधार भनेकै अर्थ हो । यसको जोहोमै निर्धारण हुन्छ कस्तो खालको गतिविधि सञ्चालन गर्ने भन्नेमा । नयाँ पुस्तामा संस्कृति हस्तान्तरणमा भाषाको कठिनाइ, भेषभूषा र रहनसहनको अप्ठयारोलगायत विभिन्न गतिविधिहरुको निरन्तरतामा भौतिक सामग्रीको अभाव खट्किने गर्छ । आफूभन्दा अग्रज पुस्तासँगको सहकार्य गर्न सहज रहेता पनि नयाँ पुस्तालाई नेवा कला, संस्कृति हस्तान्तरण गर्न कठिन देखिन्छ ।

नेपाली कला र संस्कृतिलाई कसरी जीवन्त बनाउन सकिएला ?

प्रजापति :  हरेक मान्छेले आफ्नो सभ्यताको जानकारी पाउनु भनेको नै उसको कला, संस्कृति नै हो । आफ्नो पुख्र्योलीको नालीबेलीका बारेमा जानकारी हासिल गरेर भावी पुस्तालाई जानकारी दिने माध्यम भनेको नै कला, संस्कृति हो भन्ने लाग्दछ । कला, संस्कृतिको धनी देश नेपालको आफ्नै पहिचान रहेको छ । जसका कारण कला र संस्कृतिलाई जीवन्तता दिन मौलिकपनलाई निरन्तरता दिँदै यसको दीर्घकालीन संरक्षणमा हरेक पक्ष आ–आफ्नो क्षेत्रबाट लाग्नु पर्दछ जस्तो मलाई लाग्दछ ।

अन्त्यमा….

प्रजापति :  विश्वभर छरिएर रहेका हरेक जातजातीले आफ्नो कला, संस्कृतिलाई आफ्नो क्षेत्रबाट संरक्षण गर्दै जानु पर्दछ । आफूसँग भएको हरेक क्षेत्रको ज्ञानलाई भावी पुस्तालाई हस्तान्तरण गर्न ढिला गर्नु हुँदैन । आधुनिकतासँगै आफ्नो मौलिकतालाई पनि सन्तुलन कायम  गर्न आवश्यक छ किनभने आफ्नो मौलिकपन नै आफ्नो पहिचान हो ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर