एच-१ बी भिसा कार्यक्रम हटाउन भान्सको समर्थन
काठमाडौं । अमेरिकी उपराष्ट्रपति जे.डी.भान्सले अमेरिकी कामदारलाई सस्तो विदेशी श्रमिकबाट प्रतिस्थापन गर्न एच-१ बी भिसा कार्यक्रमको दुरुपयोग भइरहेको दाबी गर्दै कार्यक्रम हटाउन आफूले समर्थन गर्ने बताउनुभएको छ ।
सामाजिक सञ्जाल एक्समा भिडियोमार्फत धारणा सार्वजनिक गर्दै उहाँले प्रविधि, लेखा तथा अन्य क्षेत्रमा कम्पनीले प्रणालीको दुरुपयोग गरेको आरोप लगाउनुभयो । उच्च दक्ष विदेशी प्रतिभा भित्र्याउने र सस्तो श्रमका लागि भिसा प्रयोग गर्ने विषय फरक हुनुपर्ने उहाँको भनाइ थियो ।
भान्सले एच-१ बी भिसासम्बन्धी केही निवेदनमा लाग्ने एक लाख अमेरिकी डलर शुल्कको बचाउ गर्दै उक्त व्यवस्थाले कम्पनीलाई कम लागतको विदेशी श्रम प्रयोग गर्न निरुत्साहित गर्ने बताउनुभयो । प्रशासनले उच्च दक्षता र उच्च पारिश्रमिक भएका पदमा भर्तीलाई प्राथमिकता दिने नीति अघि बढाएको छ ।
सेप्टेम्बर १८ को कार्यकारी निर्देशनले एच-१ बी प्रायोजन गर्ने कम्पनीले अमेरिकी कामदारलाई असर पर्ने गरी कर्मचारी कटौती गरेको वा गर्न लागेको अवस्थासमेत आवेदन समीक्षा गर्दा मूल्याङ्कन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ । श्रम विभागलाई सम्भावित नियम उल्लङ्घनबारे पुराना आवेदन छानबिन गर्न पनि भनिएको छ ।
भान्सले यी सुधारले प्रणालीका मूल समस्या समाधान नगर्न सक्ने बताउँदै एच-१ बी कार्यक्रम ‘पूर्णरूपमा बिग्रिएको’ दाबी गर्नुभयो । कार्यक्रम कायम रहेसम्म अमेरिकी कामदारको संरक्षण गर्नुपर्ने उहाँको भनाइ छ । यसैबिच, एक लाख डलर शुल्कसम्बन्धी व्यवस्था अदालतमा चुनौतीमा परेको छ । अक्टोबर १ मा एक सङ्घीय मजिस्ट्रेटले प्रशासनले आवश्यक प्रक्रिया पालना नगरेको ठहर गर्दै शुल्क कार्यान्वयनविरुद्ध आदेश दिएका थिए ।
