प्रतिकूल मौसमका कारण उडान प्रभावित
काठमाडौं । प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित भएको छ ।
हिजो बिहीबारदेखि परेको निरन्तरको वर्षा र धुम्म भएको मौसमका कारण भिजिबिलिटी कम हुँदा हवाई उडान प्रभावित भएको हो । बुद्ध एअरका सूचना अधिकारी दीपेन्द्र कर्णले पोखरा, भरतपुर र तुम्लिङटारमा भिजिविलिटी कम हुँदा हवाई उडान प्रभावित भएको जानकारी दिनुभयो । यस्तै, मौसमका कारण माउण्टेन फ्लाइटसमेत स्थगित भएको छ ।
हाल बुद्ध एअरले भद्रपुर, तुम्लिङटार, विराटनगर, राजविराज, जनकपुर, सिमरा, भरतपुर, पोखरा, नेपालगञ्ज, सुर्खेत, धनगढीका साथै भारतको वनारस र कोलकातामा उडान भर्दै आएको छ ।
यस्तै, यती एअरलाइन्सले आज सूचना जारी गरी प्रतिकूल मौसमका कारण यति एअरलाइन्सका उडान ढिलाइ र समय परिवर्तन हुनसक्ने जनाएको छ । यती एअरलाइन्सले यात्रुलाई विमानस्थलतर्फ प्रस्थान गर्नुअघि एअरलाइन्सको वेबसाइट वा मोबाइल एपमार्फत उडानको पछिल्लो जानकारी जाँच गर्न अनुरोध गरेको छ ।
भिटिविलिटी कम हुँदा यतीको पोखरा उडान हुन नसकेको एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिनुभयो । मौसमका कारण अन्य गन्तव्यस्थलको पनि उडान समयमा हुन नसकेको प्रवक्ता बर्तौैलाले बताउनुभयो । आन्तरिक उडान अवरुद्ध हुँदा त्रिभुवन विमानस्थलमा यात्रुको चाप बढेको छ ।
प्रतिक्रिया
