चिनियाँ राष्ट्रपतिलाई अमेरिकामा भव्य स्वागत
काठमाडौं । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन चिनियाँ राष्ट्रपति सी जीनपिङबीच अमेरिका पुगेका छन् ।
राष्ट्रपति सी पत्नी पेङ लियुआन र चिनियाँ प्रतिनिधिमण्डलसहित अमेरिका पुगेका हुन् । उनीहरूलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विमानस्थलमै पुगेर भव्य स्वागत गरेका छन् । राष्ट्रपति ट्रम्पले पत्नी मेलानियासँगै विमानस्थल पुगेर सीको स्वागत गरेका थिए । विमानस्थलमा अमेरिकी सेनाले सीलाई सम्मान गार्ड अफ अनरसमेत दिएको थियो ।
ट्रम्प र सीबीचको भेटवार्ता विश्वका दुई प्रमुख शक्तिबीचको सम्बन्धका दृष्टिले महत्वपूर्ण मानिएको छ । संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका लागि विश्वभरका प्रतिनिधि न्युयोर्कमा भेला भएका बेला उनीहरूबीच वार्ता हुन लागेको हो । वार्तामा पश्चिम एसियाको पछिल्लो अवस्था, इरानमाथि दबाब, व्यापार, प्रविधि तथा क्षेत्रीय सुरक्षालगायत विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।
अमेरिका र चीनबीच जारी व्यापार विवादलाई सम्बोधन गर्दै दीर्घकालीन व्यापार सम्झौताको आधार तयार गर्ने विषय वार्ताको प्रमुख एजेन्डामा रहनेछ । दुई देशबीचको व्यापारमा लगाइएको महसुल तथा व्यापारिक प्रतिबन्धबारे पनि छलफल हुने बताइएको छ ।
कृत्रिम बौद्धिकताका उन्नत प्रणालीबाट उत्पन्न सुरक्षा जोखिम तथा अमेरिकी अर्धचालक र चिप निर्यातमा लगाइएका नियन्त्रणबारे पनि छलफल हुने सम्भावना छ । कृत्रिम बौद्धिकता तथा हरित ऊर्जाका लागि आवश्यक दुर्लभ खनिज र धातुको आपूर्तिसँग सम्बन्धित विषय पनि वार्ताको एजेन्डामा रहनेछ । चीनले यस्ता सामग्रीको निर्यातमा लगाएका प्रतिबन्ध तथा त्यसमा सम्भावित सहजताबारे छलफल हुन सक्नेछ ।
ताइवान तथा हिन्द–प्रशान्त क्षेत्रमा सैन्य सन्तुलन र ताइवान जलडमरूमध्यमा स्थिरता कायम गर्ने विषयमा पनि दुवै नेताबीच छलफल हुने अपेक्षा गरिएको छ । पश्चिम एसियाको संकट, इरानसँग सम्बन्धित तनाव तथा विश्वव्यापी लागुऔषध तस्करी नियन्त्रणमा चिनियाँ सहयोगका विषयमा पनि छलफल हुन सक्नेछ । अमेरिका र चीनबीच प्रत्यक्ष संवाद अघि बढ्दा विश्व अर्थतन्त्र, एसियाली बजार तथा क्षेत्रीय राजनीतिक वातावरणमा यसको प्रभाव पर्न सक्ने भएकाले भारतलगायत अन्य देशले पनि वार्तालाई चासोका साथ हेरिरहेका छन् ।
