मोचामा साउदी हवाई आक्रमण, ६ जनाको मृत्यु

काठमाडौं । यमनको दक्षिणपश्चिमी ताइज प्रान्तस्थित रणनीतिक लाल सागर बन्दरगाह सहर मोचामा मङ्गलबार साउदी अरबले गरेको हवाई आक्रमणमा छ जनाको मृत्यु भएको र आठ जना घाइते भएको हुथी समूहद्वारा सञ्चालित सञ्चार माध्यमले जनाएको छ ।

हुथी समूहद्वारा सञ्चालित अल-मसिराह टेलिभिजनका अनुसार साउदी लडाकू विमानले मोचाको एक आवासीय क्षेत्रमा तीन हवाई आक्रमण गरेका थिए । आक्रमणमा दुई बालबालिका र एक महिलासहित छ जनाको मृत्यु भएको तथा अन्य आठ जना घाइते भएका जनाइएको छ । आक्रमणमा मारिएका र घाइते भएका बालबालिकाको दृश्यसमेत उक्त टेलिभिजनले प्रसारण गरेको छ ।

घटनाबारे साउदी अरबबाट तत्काल कुनै प्रतिक्रिया आएको छैन । साउदी अरब र हुथी समूहबिच पछिल्लो समय बढिरहेको सैन्य तनावका क्रममा यमनका हुथी नियन्त्रणमा रहेका विभिन्न क्षेत्रमा साउदी हवाई आक्रमण भइरहेका छन् । त्यसको जवाफमा हुथी समूहले साउदी अरबका विभिन्न स्थानलाई लक्षित गरी क्षेप्यास्त्र र ड्रोन प्रहार गर्दै आएको छ ।

मोचा पछिल्लो द्वन्द्वमा महत्वपूर्ण युद्ध क्षेत्र बनेको छ । हुथी सेनाले सेप्टेम्बर १० मा मोचा बन्दरगाह सहर कब्जा गर्दै धुबाब हुँदै दक्षिणतर्फ अघि बढेको तथा सेप्टेम्बर ११ मा बाब अल-मन्दब जलघाँटीको मध्यभागमा रहेको माय्युन टापु नियन्त्रणमा लिएको दाबी गरिएको छ । त्यसपछि यमनी सरकारी सेनाले दक्षिणतर्फ रक्षात्मक स्थानमा फर्किनु परेको जनाइएको छ ।

बाब अल-मन्दबलाई हेर्ने दुर्गम उच्च भूभागमा समेत पछिल्लो समय लडाइँ तीव्र भएको छ । सरकारी सेनाले हुथी समूहको थप विस्तार रोक्न तथा लाल सागरलाई एडनको खाडी र हिन्द महासागरसँग जोड्ने महत्वपूर्ण समुद्री मार्गका रणनीतिक स्थान पुनः नियन्त्रणमा लिन प्रयास गरिरहेको छ ।

यमनमा सन् २०१४ को अन्त्यतिर हुथी समूहले राजधानी साना र उत्तरी यमनको ठूलो भूभाग कब्जा गरेपछि द्वन्द्व सुरु भएको हो । त्यसपछि सन् २०१५ मा साउदी अरबको नेतृत्वमा गठित गठबन्धनले अन्तर्राष्ट्रिय मान्यता प्राप्त यमनी सरकारको समर्थनमा यमनमा सैन्य हस्तक्षेप गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर