पर्यटन पुनरुत्थानका लागि पाटा नेपालको “क्राइसिस टु रिकभरी”

काठमाडौं । भोटेकोशी बाढीका कारण क्षति पुगेको पर्यटन क्षेत्रको पुनरुत्थानका लागि प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपालले अन्तरराष्ट्रिय पहल सुरु गरेको छ ।

पाटा नेपालले आज यहाँ आयोजना गरेको ‘क्राइसिस टु रिकभरी’ कार्यक्रममा रसुवाको भोटेकोशी करिडोर आसपासका क्षेत्रबाहेक अन्य पर्यटकीय क्षेत्र सुरक्षित रहेको सन्देश दिइयो ।

कार्यक्रममा इ–टुरिजम फ्रन्टियर्सकी प्रमुख कार्यकारी अधिकृत एवं पाटा फाउन्डेसनकी ट्रष्टी सारा म्याथ्युजले पर्यटन क्षेत्रमा देखिएको सङ्कट व्यवस्थापन गर्न सामाजिक सञ्जाल र सञ्चारमाध्यमले सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने बताउनुभयो ।

उहाँले सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्ममा फैलिने भ्रामक समाचारको नियन्त्रण र सही तथ्याङ्क प्रवाह गर्नुपर्ने उल्लेख गर्नुभयो । वास्तविक परिस्थितिको सत्यतथ्य जानकारी विश्वभर पु¥याएर पर्यटकको आत्मविश्वास पुनःस्थापित गर्नुपर्ने उहाँको भनाइ थियो ।

उहाँले पाटा फाउन्डेसनले ‘नेपाल टुरिजम रिकभरी फन्ड’ स्थापना गरेको बताउँदै उक्त फन्डमार्फत बाढी प्रभावित क्षेत्रका पथप्रदर्शक, पोर्टर, सवारी चालक तथा स्थानीय होमस्टे र लज सञ्चालकलाई प्रत्यक्ष सहयोग पुग्ने उल्लेख गर्नुभयो ।

पाटा नेपाल च्याप्टरका अध्यक्ष खेम लकाइले भोटेकोशी बाढीपछि अन्तरराष्ट्रिय क्षेत्रमा नेपालको पर्यटनप्रति नकारात्मक सन्देश गएकाले त्यसलाई चिर्नका लागि अन्तरराष्ट्रिय विज्ञलाई बोलाएर ‘क्राइसिस टु रिकभरी’ कार्यक्रम गरिएको जानकारी दिनुभयो ।

उहाँले बाढीका कारण केही सीमित क्षेत्रमा मात्र क्षति पुगेको भए पनि अन्तरराष्ट्रिय ट्राभल पोर्टल तथा बुकिङ एजेन्सीमा सिङ्गो नेपाल नै जोखिममा रहेकोजस्तो भ्रमपूर्ण सन्देश फैलिँदा पर्यटन व्यवसाय र बुकिङमा ठूलो धक्का पुग्ने गरेको उहाँको भनाइ छ ।

पाटा नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत सुरेशसिंह बुडालले नेपाली अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको पर्यटन उद्योगलाई पुनःलयमा फर्काउन र रोजगारी सुरक्षित गर्न पाटा नेपालले निरन्तर काम गर्दै आइरहेको बताउनुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर