मूल्यवृद्धि डेढ वर्षयताकै अत्यधिक उच्च
काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना अर्थात् साउनमा महँगी अत्यधिक बढेको छ । नेपाल राष्ट्र बैङ्कले शुक्रबार सार्वजनिक गरेको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदन अनुसार साउनमा महँगी दर ५.९६ प्रतिशत पुगेको छ । जुन पछिल्लो डेढ वर्षयताकै उच्च हो । यसअघि २०८१ मङ्सिरमा महँगी दर ६.०५ प्रतिशत थियो । गत वर्ष साउनमा यस्तो दर १.६८ प्रतिशत मात्र थियो ।
प्रतिवेदन अनुसार साउनमा खाद्य तथा पेयपदार्थ समूहको महँगी ६.७७ प्रतिशत रहेको छ भने गैरखाद्य तथा सेवा समूहको महँगी दर ५.५२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिना खाद्य तथा पेयपदार्थ समूहको महँगी दर बुझाउने मुद्रास्फीति २.२८ प्रतिशतले ऋणात्मक रहेको थियो भने गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.९५ प्रतिशत रहेको थियो ।
समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घिउ तथा तेल उपसमूहको उपभोक्ता मूल्य सूचकाङ्क १५.६२ प्रतिशत, फलफूलको १५.३९ प्रतिशत, माछा तथा मासुको ८.६५ प्रतिशत, तरकारीको ६.९० प्रतिशत र मरमसलाको ४.८० प्रतिशतले बढेको छ ।
बाह्य क्षेत्र सुदृढ बन्दै
प्रतिवेदन अनुसार नेपालको बाह्य आर्थिक तथा वित्तीय क्षेत्र थप सुदृढ बन्दै गएको छ । बढ्दो रेमिट्यान्स, उच्च चालु खाता बचत र सकारात्मक शोधनान्तर स्थितिले मुलुकको विदेशी मुद्रा भण्डारलाई अहिलेसम्मकै बलियो अवस्थामा पुर्याएको छ । मुलुकभित्र अर्थतन्त्रको गति अपेक्षा अनुसार नबढे पनि बाह्य क्षेत्रमा भने पैसाको ढुकुटी भरिँदै गएको पछिल्लो तथ्याङ्कमा देखिएको हो ।
राष्ट्र बैङ्कका तथ्याङ्क अनुसार कुल विदेशी विनिमय सञ्चिति ३९ खर्ब ४६ अर्ब २३ करोड रहेको छ । अमेरिकी डलरमा उक्त सञ्चिति २५ अर्ब ८४ करोड पुगेको छ । यस्तो सञ्चिति १८.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ । त्यस्तै चालु खाता ९४ अर्ब ५९ करोड र शोधनान्तर ९० अर्ब ३४ करोड बचतमा रहेको छ । निर्यात ६१.७ प्रतिशतले र आयात ३१.० प्रतिशतले बढेको छ ।
बैङ्क तथा वित्तीय संस्थाको निक्षेप परिचालन ०.३ प्रतिशतले घटेको छ भने निजी क्षेत्रमा प्रवाहित कर्जा ०.४ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १४.५ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ७.० प्रतिशत रहेको छ । बैङ्क तथा वित्तीय संस्थाबिचको भारित औसत अन्तरबैङ्क दर २.७५ प्रतिशत रहेको छ । वाणिज्य बैङ्कको निक्षेपको भारित औसत ब्याजदर ३.१५ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर ६.४८ प्रतिशत रहेको छ ।
विप्रेषण अहिलेसम्मकै उच्च
चालु आर्थिक वर्षको पहिलो महिनामा विपे्रषण आप्रवाह २१.२ प्रतिशतले वृद्धि भई दुई खर्ब १५ अर्ब पाँच करोड पुगेको छ । जुन कुनै एउटा महिनामा भित्रिएको अहिलेसम्मकै सबैभन्दा उच्च विपे्रषण हो । समीक्षा अवधिमा अमेरिकी डलरमा विपे्रषण आप्रवाह १०.२ प्रतिशतले वृद्धि भई एक अर्ब ४० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २५.० प्रतिशतले बढेको थियो ।
यो अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत नयाँ) लिने नेपालीको सङ्ख्या ४२ हजार ६९३ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या २७ हजार ७४८ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः ४४ हजार ४६६ र २३ हजार ६४४ रहेको थियो ।
