आजदेखि नयाँ ५० रुपैयाँ दरको नोट चलनचल्तीमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ विशेषता समेटिएको ५० रुपैयाँ दरको बैंकनोट आजदेखि चलनचल्तीमा ल्याउने भएको छ। साविककै आकार तथा रङमा नयाँ ५० रुपैयाँको नोट जारी गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकका अनुसार नयाँ नोटमा संकेत नम्बर ट २४, ०००००१ देखि ण ७०, ९९९९९९ सम्मका बैंकनोट जारी गरिनेछन् । नयाँ नोटमा २०८३ साल असोज २ गतेदेखि चलनचल्तीमा ल्याइएको उल्लेख गरिएको छ।

नोटको अगाडिको मध्य भागमा ‘श्री नेपाल राष्ट्र बैंक, नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग भएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ ५० रुपैयाँ पचास तुरुन्त पाइने छ’ भन्ने प्रतिज्ञामूलक वाक्यांश राखिएको छ।

नोटको बायाँतर्फ सगरमाथा हिमालको चित्र राखिएको छ भने दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको छ। पानी छापको तल ‘५०’ अंकित पानी छापसमेत राखिएको राष्ट्र बैंकले जनाएको छ। नयाँ नोटमा नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलको दस्तखत रहेको छ। साविककै आकार र रङ कायम राखिए पनि नयाँ नोटमा यी विशेषताहरू समेटिएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर