असोज पहिलो सातादेखि पोखरा–दुबई सिधा उडान
काठमाडौं । दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज ७ (सेप्टेम्बर २३) को साँझ ६ः१५ बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यतालिका सार्वजनिक भएको छ । त्यस उपलक्ष्यमा नेपालको पर्यटकीय नगरी पोखरा विमानस्थलमा पानीको फोहरासहित फ्लाई दुबईको जहाज र यात्रुलाई स्वागत गरिनेछ।
त्यहाँबाट आएका यात्रुको अवतरणपछि उक्त विमान पोखराबाट यात्रु लिएर साँझ ७ः१५ बजे दुबईका लागि उड्नेछ । फ्लाइ दुबईको एयर बस ३१९/३२० ले पोखरा–दुबई उडान गर्ने विमानस्थलका सूचना अधिकारी विनोदसिंह रावतले बताए।
एयर बस ३१९ मा १४० देखि १५० सम्म र एयर बस ३२० मा १६० देखि १८० सम्म यात्रु क्षमता रहेको उनकाे भनाइ छ । “फ्लाइ दुबईले आवश्यकताअनुसार पोखराका लागि एयर बस ३१९ र ३२० आलोपालो गरी उडाउँछ”, सूचना अधिकारी रावतले भने, “पहिलो उडानमा पोखरा आउने यात्रुको सङ्ख्या उल्लेख्य छ, पोखरादेखि दुबई फर्कदा जहाजले यात्रुसहित कार्गो लिएर जानेछ।”
उनले फ्लाइ दुबईको हरेक दिन साँझ ६ः१५ बजे पोखरा अवतरण र ७ः१५ बजे पोखरादेखि दुबईका लागि प्रस्थानको तालिका रहेको रावतले जानकारी दिए । पहिलो दिन निर्धारित समयभन्दा केही समयअघि जहाज अवतरण हुनसक्ने सूचना अधिकारी रावतले बताए । दुबई–पोखरा–दुबई नियमित उडानका लागि तालिका सार्वजनिक भएदेखि नै विमानस्थलले आवश्यक तयारी अगाडि बढाएको छ ।
