रात्रिभोजमा सि नगएपनि भारत-चीन मतभेदलाई विवाद बन्न नदिन सहमत
काठमाडौं । ब्रिक्स शिखर सम्मेलनको पहिलो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आयोजना गरेको रात्रिभोजमा चिनियाँ राष्ट्रपति सी जिनपिङ अनुपस्थित भएका छन्।
शनिबार नयाँदिल्लीस्थित भारत मण्डपममा प्रधानमन्त्री मोदीले ब्रिक्स सदस्य राष्ट्रका नेताहरू, सम्मेलनमा सहभागी अन्य देशका प्रतिनिधि तथा अन्तर्राष्ट्रिय संस्थाका अधिकारीहरूका लागि आयोजना गरेको विशेष रात्रिभोजमा चिनियाँ राष्ट्रपति जिनपिङ सहभागी नभएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
उक्त उच्चस्तरीय रात्रिभोजमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसहितका अन्य विश्व नेताहरू उपस्थित थिए। तर, शनिबार दिउँसो मात्र दिल्ली आइपुगेका राष्ट्रपति सीले सम्मेलनका मुख्य सत्रहरू र प्रधानमन्त्री मोदीसँगको द्विपक्षीय वार्तामा भाग लिए पनि साँझको रात्रिभोजमा भने सहभागिता जनाएनन्।
फरक समय र लामो उडानपछिको थकानका कारण सी रात्रिभोजमा सहभागी नभएको प्रत्यक्ष जानकार स्रोतहरूलाई उद्धृत गर्दै एनडिटिभीले उल्लेख गरेको छ। सीबाहेक आबुधाबीका युवराज शेख खालिद बिन मोहम्मद पनि मोदीले आयोजना गरेको रात्रिभोजमा सहभागी नभएको बताइएको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलगायत ब्रिक्सका अन्य सदस्य राष्ट्रका प्रमुखहरू रात्रिभोजमा सहभागी भएका थिए।
भारत-चीन द्विपक्षीय वार्तामा ‘तीन आपसी सिद्धान्त’
रात्रिभोजअघि भएको द्विपक्षीय भेटवार्तामा प्रधानमन्त्री मोदी र राष्ट्रपति सीले भारत-चीन सम्बन्धको समीक्षा गरेका थिए। भेटपछि भारतीय विदेश मन्त्रालयद्वारा जारी विज्ञप्ति अनुसार दुवै नेताले ‘मतभेदलाई विवाद बन्न दिन नहुने’ कुरामा जोड दिएका थिए। साथै, भारत र चीनले आफ्नो सम्बन्धलाई रणनीतिक र दीर्घकालीन दृष्टिकोणबाट अघि बढाउनुपर्नेमा पनि उनीहरूले जोड दिएका थिए।
विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा भनिएको छ, अगस्ट २०२५ मा तियानजिनमा भएको पछिल्लो भेटपछि भारत-चीन द्विपक्षीय सम्बन्धमा भइरहेको निरन्तर प्रगतिलाई दुवै नेताले स्वागत गरेका छन्। प्रधानमन्त्री मोदीले भारत-चीन सम्बन्धलाई तीनवटा ‘म्युचुअल’ अर्थात् आपसी सम्मान, आपसी संवेदनशीलता र आपसी हितबाट निर्देशित गर्नुपर्ने बताएका थिए।
