ग्यास काठमाडौं ल्याउन बोटलिङ गर्न सुरु
काठमाडौं । पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि काठमाडौ बाहिर खाना पकाउने ग्यास भरेर (बोटलिङ) लैजान थालिएको छ।
उपत्यका र छिमेकी जिल्लामा रहेका १६ उद्योगले बारा, पर्सा, चितवन, मकवानपुर, नवलपरासी (बर्दघाट–सुस्तापूर्व), नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्लाका उद्योगसँग समन्वय गरी वैकल्पिक मार्गबाट सिलिन्डरमा ग्यास भरेर लैजान थालिएको हो।
साल्ट ट्रेडिङ कर्पोरेशनको ‘एसटिसी ग्यास’ वीरगञ्जको मनोज ग्यासमा भरेर पठाउन थालिएको छ। बाबा ग्यासका सञ्चालक विमल कालाखेतीका अनुसार मंगलबार चितवनको बाबा ग्यासले एक हजार ५०० श्री ग्यासका सिलिन्डर भरेर पठाएको छ।
श्री ग्यासको प्लान्ट धादिङ नौबिसेमा रहेको छ। साइबाबाले आफ्नै ९०० सिलिन्डर काठमाडौं पठाएको छ। नेपाल ग्यास गण्डकीले बालाजुको नेपाल ग्यासको एक हजार २०० सिलिन्डर भरेर पठाएको छ।
गैँडाकोटको जानकीमा नौबिसेको श्रीराम, हेटौँडाको साहारामा काठमाडौंको एभरेष्ट र सुगमको ग्यास भरेर पठाइएको छ। साल्ट ट्रेडिङ कर्पोरेशनको एसटिसी ग्यास वीरगञ्जको मनोज ग्यासमा भरेर पठाउन थालिएको छ।
बनेपाको सगरमाथाले परासीको चण्डी ग्यासमा, बनेपाको लोकप्रिय, सुपर ग्यास, तारा ग्यासलगायतले काठमाडौं बाहिरका विभिन्न ग्यास उद्योगमा भरेर सिलिन्डर त्रिभुवन राजपथबाट पठाउन सुरु गरेका छन्।
