इन्धनसहित एक सय ट्यांकर त्रिभुवन राजपथबाट काठमाडौं प्रस्थान

काठमाडौं । नेपाल आयल निगम अमलेखगन्जले काठमाडौंमा पेट्रोलियम पदार्थ अभाव हुन नदिन इन्धन बोकेका एक सय वटा ट्यांकरलाई सोमबार दिउँसो त्रिभुवन राजपथ हुँदै काठमाडौं पठाएको छ । पृथ्वी राजमार्गको कृष्णभिरमा सडक भासिएपछि त्रिभुवन राजपथबाट ट्यांकर पठाइएको हो ।

त्रिभुवन राजपथका विभिन्न भागमा सडक साँघुरो रहेका कारण राजमार्गमा प्रहरी परिचालन गरी सवारीसाधनलाई काठमाडौंतर्फ पठाइएको हो । नौबिसे हुँदै हेटौँडातर्फ आउने सवारीसाधनलाई नौबिसे, पालुङ र सिमभन्ज्याङको खुल्ला स्थानमा रोकेर हेटौँडातर्फबाट सवारीसाधनहरू काठमाडौंतर्फ पठाइएको मकवानपुर प्रहरीले जनाएको छ ।

राजमार्गका साँघुरो स्थानहरूमा ट्राफिक प्रहरी र जनपथ प्रहरीसमेत परिचालन गरिएको छ । हेटौंडातर्फबाट गएका सवारीसाधन नौबिसे कटेपछि मात्रै उताबाट सवारीसाधन हेटौँडातर्फ पठाउने गरी समन्वय गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक रमेश बिष्टले बताए ।

त्रिभुवन राजपथको साँघुरो सडक र सवारी चापका कारण यो मार्गबाट ग्यास बुलेटलाई काठमाडौं पठाउन समस्या भइरहेको छ । राजमार्गमा रहेका पुलको क्षमताभन्दा बुलेटको भार अत्याधिक रहेका कारण ग्यास पठाउन समस्या देखिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी वशन्त अधिकारीले बताए । कान्तिराजपथमा पहिरोको जोखिम र केही स्थानमा पहिरोले सडक साँघुरो भएका कारण पनि ग्यास ढुवानीमा समस्या भएको छ । ग्यासका बुलेटलाई बारा, मकवानपुर र चितवनमा राखेर सिलिन्डरमा फिलिङ गरी ट्रक राखेर काठमाडौं पठाउन सकिने विषयमा छलफल भइरहेको प्रजिअ अधिकारीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर