साताको पहिलो दिनमै नेप्से ओरालो यात्रामा

काठमाडौं । सेयर कारोबार हुने साताको पहिलो दिन सोमबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। गत साता करिब १ प्रतिशतले घटेको बजारमा यो साताको पहिलो कारोबार दिन पनि गिरावटले निरन्तरता पाएको हो।

सोमबार कारोबार बन्द हुँदा नेप्से परिसूचक १९.१३ अंकले घटेर २ हजार ५९९.५८ विन्दुमा झरेको छ। पछिल्ला केही दिनदेखि निरन्तर ओरालो लागेको सेयर बजारमा सोमबार पनि बिक्री चाप कायम रहँदा परिसूचक थप कमजोर बनेको हो।

सोमबार २ सय २९ कम्पनीको सेयर मूल्य घट्दा ४७ कम्पनीको मूल्य मात्रै बढेको छ। दुई कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ।त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ३.१७ अंकले घटेर ४५८.१८ विन्दुमा पुगेको छ। कारोबारमा रहेका १३ वटै उपसूचक राताम्य भएका छन्।

बजार परिसूचक घटे पनि सोमबार कारोबार रकम भने ३ अर्ब रुपैयाँभन्दा माथि रहेको छ। दिनभर ३५० कम्पनीका ८५ लाख ७२ हजार ९७० कित्ता सेयर ५३ हजार १५३ पटक खरिद–बिक्री हुँदा कुल ३ अर्ब २३ करोड ९७ लाख ६ हजार ५४९ रुपैयाँ बराबरको कारोबार भएको छ।

सोमबार एक कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। पछिल्ला कारोबार दिनमा देखिएको निरन्तर गिरावटले लगानीकर्तामाझ बजारको आगामी दिशाबारे चासो बढाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर