आज मंगलबार सेयर बजार सामान्य अंकले वृद्धि

काठमाडौं । आज मंगलबार सेयर बजार सामान्य अंकले बढेको छ। नेप्से परिसूचक ०.७९ अंकले बढेर २६४१.८५ विन्दुमा पुगेको छ। कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेर ४ अर्ब रुपैयाँ नाघेको छ। यस दिन सेन्सेटिभ इन्डेक्स ०.८५ अंकले बढेको छ। फ्लोट इन्डेक्स ०.१७ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.३० अंकले बढेको छ।

१३ उपसमूहमध्ये ६ उपसमूहको सूचक बढेको छ भने ७ उपसमूह घटेका छन्। बैंकिङ, होटल तथा पर्यटन, जलविद्युत्, लगानी, जीवन बीमा र अन्य उपसमूहको सूचक सामान्य अंकले बढेका छन्। समग्रमा बजार परिसूचक झिनो अंकले बढे पनि कारोबार रकममा आएको सुधारले लगानीकर्ताको गतिविधि भने अघिल्लो दिनको तुलनामा बढेको देखिएको छ।

सोमबार ३ अर्ब ६७ करोड रुपैयाँको सेयर कारोबार भएकोमा मंगलबार ३४० स्टकको ५२ हजार ७३ पटकको कारोबारबाट ४ अर्ब ११ करोड ९ लाख ७४ हजार रुपैयाँबराबरको सेयर किनबेच भएको छ। यस दिन ९५ लाख ३४ हजार कित्ता सेयर कारोबार भएको छ।

कारोबारमा आएको अप्पर लोहोरे खोला हाइड्रोपावरको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा पुगेको छ। कम्पनीको सेयर मूल्य ५६ रुपैयाँ ९० पैसाले बढेर ४३६ रुपैयाँ ६० पैसा पुगेको छ। मूल्य बढ्ने अन्य कम्पनीको वृद्धि भने ६ प्रतिशतभन्दा कम रहेको छ।

यस दिन महिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक १४.९१ प्रतिशत घटेको छ। कारोबार रकमका आधारमा सोलु हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। कम्पनीको ४४ करोड ८७ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। रिडी पावर कम्पनीको कारोबार रकम ३३ करोड ५० लाख रुपैयाँ नाघेको छ भने ङादी ग्रुप पावरको करिब १८ करोड रुपैयाँको सेयर कारोबार भएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर