मोबाइल सेवाको गुणस्तर सुधार्न प्राधिकरणको निर्देशन
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवाको गुणस्तर अभिवृद्धि, उपभोक्ता हित संरक्षण तथा प्रविधिको प्रभावकारी उपयोगका लागि दूरसञ्चार सेवा प्रदायकलाई आठबुँदे कडा निर्देशन जारी गरेको छ।
दूरसञ्चार ऐन, २०५३ को दफा १५ बमोजिम प्राधिकरणको २०८३ साउन २१ गतेको निर्णयानुसार उक्त निर्देशन दिइएको हो। प्राधिकरणका अनुसार सेवा प्रदायकहरूले सेवाको गुणस्तर, नेटवर्कको विश्वसनीयता र ग्राहक सेवा अनुभवमा सुधार गरी तोकिएका मापदण्ड पुरा भए/नभएको सम्बन्धी प्रतिवेदन नियमित रूपमा पेस गर्नुपर्नेछ।
ग्राहक सहायताका लागि २४सै घण्टा गुनासो सुनुवाइ गर्न कृत्रिम बुद्धिमत्ता लगायतका नवीनतम प्रविधिको प्रयोग गर्न भनिएको छ।
त्यसैगरी गुणस्तरीय सेवा नपुगेका क्षेत्रमा प्राथमिकताका आधारमा नेटवर्क विस्तार गर्न र दूरसञ्चार सेवा पुगेका स्थानको विवरण त्रैमासिक रूपमा नेपालको नक्सामा अद्यावधिक गर्नुपर्ने व्यवस्था गरिएको छ। देशभर फोजी सेवाको गुणस्तर वृद्धि गर्दै प्रमुख शहरबाट फाइभजी सेवा प्रारम्भ गर्न चरणबद्ध योजना पेस गर्न पनि प्राधिकरणले ताकेता गरेको छ।
सेवा प्रदायकलाई फ्रिक्वेन्सी र दूरसञ्चार पूर्वाधारको दोहोरो लगानी न्यूनीकरण हुने गरी अधिकतम उपयोग गर्न भनिएको छ। यसै गरी साइबर सुरक्षाका लागि नियमित ‘सक्युरिटी अडिट’ तथा विपद् व्यवस्थापन योजना तयार गर्नुपर्नेछ। बजारमुखी तथा पारदर्शी शुल्क प्रणालीका लागि लागतमा आधारित विश्लेषण गरी नयाँ दर प्रस्ताव पेस गर्न निर्देशन दिइएको प्राधिकरणका प्रवक्ता मिन प्रसाद अर्यालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
