राष्ट्र सेवकहरूको नयाँ तलबमान स्वीकृत

काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत घोषणा गरिएको तलब वृद्धिअनुसार राष्ट्रसेवक कर्मचारीहरूको नयाँ तलबमान स्वीकृत गरेको छ।

अर्थ मन्त्रालयका अनुसार मन्त्रिपरिषद्ले साउन १ गतेदेखि लागू हुने गरी निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्वास्थ्य सेवा, संसद् सेवा, सामुदायिक विद्यालयका शिक्षक तथा प्रदेश र स्थानीय तहका कर्मचारीहरूको नयाँ तलबमान तथा सुविधा स्वीकृत गरेको हो।

नयाँ तलबमानअनुसार मुख्यसचिव र नेपाली सेनाका प्रधानसेनापतिको समान तलब ९० हजार ५ सय ९४ रुपैयाँ कायम भएको छ। यसअघि उनीहरूको सुरु तलबमान ८४ हजार ९ सय ३२ रुपैयाँ थियो।

त्यस्तै, नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी), सशस्त्र प्रहरी बलका महानिरीक्षक (एआईजीपी) तथा नेपाल सरकारका सचिवहरूको कुल तलब ८४ हजार ५ सय ७६ रुपैयाँ कायम गरिएको छ।

सरकारी सेवामा सबैभन्दा कम तलब पाउने प्रथम स्तरका कार्यालय सहयोगीको कुल तलब २८ हजार ९ सय ८४ रुपैयाँ पुगेको छ। श्रेणीविहीन कर्मचारी (हल्कारा, हुलाकी तथा कार्यालय सहयोगी) को सुरु तलबमान २७ हजार १ सय ७२ रुपैयाँ रहेकोमा ग्रेड रकम थपिएपछि उक्त रकम पुगेको हो।

सरकारले नयाँ तलबमानसँगै सबै कर्मचारीका लागि मासिक १० प्रतिशत प्रोत्साहन भत्ता दिने व्यवस्था पनि गरेको छ। अर्थ मन्त्रालयको परिपत्रअनुसार एक दिनको तलब बराबरको ग्रेड रकम र वृद्धि भएको तलबमानको १० प्रतिशत रकम मासिक रूपमा प्रोत्साहन भत्ताका रूपमा उपलब्ध गराइनेछ।

शिक्षक र स्वास्थ्य सेवाको तलब पनि बढ्यो 

सामुदायिक विद्यालयका माध्यमिक तह (प्रथम श्रेणी) शिक्षकको तलब ७४ हजार ९ सय ५८ रुपैयाँ पुगेको छ भने प्राथमिक तहका शिक्षकको न्यूनतम तलब ३४ हजार ४ सय २६ रुपैयाँ कायम गरिएको छ। स्वास्थ्य सेवातर्फ अधिकृत १२औँ तहका कर्मचारीको तलब ८४ हजार ५ सय ७६ रुपैयाँ पुगेको छ।

पेन्सनमा पनि १० प्रतिशत वृद्धि 

सरकारले अवकाशप्राप्त कर्मचारी (पेन्सनधारी) को पेन्सन रकम पनि १० प्रतिशतले वृद्धि गरेको छ।अर्थ मन्त्रालयका अनुसार नयाँ तलबमान र पेन्सन वृद्धि २०८३ साउन १ गतेदेखि लागू भइसकेको छ। मन्त्रालयले सबै सरकारी निकायलाई सोहीअनुसार तलब तथा सुविधा भुक्तानी गर्न निर्देशनसमेत दिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर