ग्यास लुकाएर राखे सिलिन्डरसहित जफत गरिने

काठमाडौं । ग्यास बिक्री–वितरणमा अनियमितता बढेको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले व्यवसायीमाथि निगरानी कडा बनाएको छ। कार्यालयले कानुनविपरीत ग्यासको कारोबार नगर्न व्यवसायीलाई निर्देशन दिँदै लुकाएर बिक्री गरे सिलिन्डरसहित जफत गर्ने चेतावनी दिएको छ।

जिल्ला प्रशासन कार्यालयले बुधबार जारी गरेको अत्यावश्यक सूचनामार्फत पहुँच, चिनजान वा व्यक्तिगत सम्बन्धका आधारमा ग्यास बिक्री गर्ने तथा कृत्रिम अभाव सिर्जना गर्ने गतिविधि रोक्न निर्देशन दिएको हो।

कार्यालयका अनुसार विभिन्न ब्रान्डका ग्यास सिलिन्डर बिक्री गर्ने डिपो, पसल तथा कम्पनीहरूले उद्योग वा डिलरबाट ग्यास ल्याएर सर्वसाधारणलाई सहज रूपमा उपलब्ध गराउनुपर्नेमा सीमित व्यक्ति, होटल तथा व्यवसायीलाई मात्र बिक्री गर्ने गरेको गुनासो प्राप्त भएको छ।

ग्यासको आपूर्ति र वितरण प्रणालीमा देखिएका समस्या समाधानका लागि जिल्ला प्रशासन कार्यालय तथा सम्बन्धित निकायले नियमित अनुगमन गरिरहेको जनाएको छ। अनुगमनलाई प्रभावकारी बनाउन सादा पोसाकका सुरक्षाकर्मीसमेत परिचालन गरिएको कार्यालयले जनाएको छ।

सूचनामा ग्यास सिलिन्डर लुकाएर राख्ने, कृत्रिम अभाव सिर्जना गर्ने वा पहुँचका आधारमा बिक्री–वितरण गर्ने कार्य कानुनविपरीत हुने उल्लेख छ। यस्ता गतिविधिमा संलग्न व्यक्ति तथा व्यवसायीमाथि प्रचलित कानुनअनुसार कारबाही गरिने प्रशासनले जनाएको छ।

जिल्ला प्रशासन कार्यालयले अवैध रूपमा भण्डारण वा बिक्रीका लागि प्रयोग भएका ग्यास सिलिन्डरसमेत जफत गरिने चेतावनी दिँदै सबै व्यवसायीलाई पारदर्शी र सहज वितरण प्रणाली कायम गर्न आग्रह गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर