तीन महिनाका लागि ८५ अर्ब तान्दै राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न ८५ अर्ब रुपैयाँ बराबरको तीनमहिने निक्षेप संकलन गर्ने भएको छ।
राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले मंगलबार जारी गरेको सूचनाअनुसार निक्षेप संकलनका लागि आज अपराह्न ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयर (OBSS) मार्फत बोलकबोल गरिनेछ। बोलकबोलबाट निर्धारण हुने ब्याजदरका आधारमा निक्षेप संकलन गरिने राष्ट्र बैंकले जनाएको छ।
संकलन गरिएको निक्षेपको साँवा र ब्याज आगामी कात्तिक १७ गते भुक्तानी गरिनेछ। बोलकबोलमा न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँको गुणाङ्कमा कुल आह्वान गरिएको रकमसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
राष्ट्र बैंकका अनुसार यस बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन्। एउटै संस्थाले फरक–फरक ब्याजदरमा एकभन्दा बढी आवेदनसमेत पेस गर्न सक्ने व्यवस्था गरिएको छ।
