चामल र खानेतेलको मूल्य उल्लेख्य रूपमा वृद्धि
काठमाडौं । पछिल्लो तीन महिनामा चामल र खानेतेलको मूल्य उल्लेख्य रूपमा बढेको छ । नेपाल खुद्रा व्यापार संघले दिएको जानकारी अनुसार चामलको मूल्य प्रति केजी २० रुपैयाँसम्म र प्रति बोरा ३५० देखि ४०० रुपैयाँसम्म बढेको छ । स्टिम जिरा मसिनो चामल प्रति केजी ८० रुपैयाँबाट १०० रुपैयाँ, पोखरेली चामल ९५ रुपैयाँबाट १२० रुपैयाँ र लङ्ग्रेन बासमती चामल १७५ रुपैयाँबाट १९० रुपैयाँ पुगेको छ ।
उद्योगीहरूले नेपाल चामल आयातमा निर्भर भएकाले भारतको निर्यात नीति, उत्पादनमा कमी र धानको समर्थन मूल्य वृद्धिको प्रत्यक्ष असर नेपाली बजारमा परेको बताएका छन् । साल्ट ट्रेडिङ कर्पोरेसनका अनुसार प्रति बोरा सोना मन्सुली चामलको मूल्य १ हजार ३५० रुपैयाँबाट बढेर १ हजार ७५० रुपैयाँ पुगेको छ । त्यस्तै, २० केजी लङ्ग्रेन बासमती चामलको मूल्य ३ हजार ५०० रुपैयाँ पुगेको छ । २५ केजी जिरा मसिनो चामलको मूल्य पनि १ हजार ८०० रुपैयाँबाट बढेर २ हजार ३३० रुपैयाँ पुगेको छ ।
यस्तै, खानेतेलको मूल्य पनि प्रति लिटर ३० रुपैयाँले बढेको छ । संघका अनुसार असार १ गते प्रति लिटर ३५० रुपैयाँ रहेको काँचो तोरीको तेल साउन १ गतेदेखि बढेर ३८० रुपैयाँ र भुटेको तोरीको तेल ४३० रुपैयाँबाट ४६० रुपैयाँ प्रति लिटर पुगेको छ । भटमास र सूर्यमुखी तेलको खुद्रा मूल्य पनि प्रति लिटर २९० रुपैयाँसम्म पुगेको छ ।
