टेक्सटाइल एण्ड क्लोदिङ डेभलपमेन्ट काउन्सिल गठन गरिने
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित कच्चा पदार्थमा आधारित गुणस्तरीय तयारी पोसाक (टेक्सटाइल) उद्योगको विकास र प्रवर्द्धनमा सरकारले विशेष जोड दिइरहेको बताएका छन्। नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग मंगलबार भएको छलफलमा उनले उद्योग विस्तारका लागि आवश्यक सबै प्रकारको सहजीकरण गर्न सरकार तयार रहेको प्रतिबद्धता जनाए।
छलफलका क्रममा प्रधानमन्त्री शाहले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलपमेन्ट काउन्सिल’ गठनको प्रक्रिया तत्काल अघि बढाउन सम्बन्धित मन्त्रीलाई निर्देशन दिए। संघका पदाधिकारीले काउन्सिल गठनले स्वदेशी कच्चा पदार्थमा आधारित तयारी पोसाकको निर्यात प्रवर्द्धन र आयात व्यवस्थापनमा सहयोग पुग्ने बताएका थिए।
प्रधानमन्त्री शाहले निजी क्षेत्रका रुग्ण तयारी पोसाक उद्योगलाई पुनः सञ्चालनमा ल्याउन उद्योग मन्त्रालयलाई आवश्यक पहल गर्न निर्देशन दिएका छन्। साथै, निःशुल्क व्यापार सम्झौता (एफटीए) र वैदेशिक लगानी (एफडीआई) भित्र्याउने प्रक्रिया अगाडि बढाउन तथा अमेरिकी बजारमा परीक्षण प्रमाणीकरण (टेस्टिङ सर्टिफिकेसन) अभावका कारण रोकिएका नेपाली उत्पादनको निर्यात सहज बनाउन परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएका छन्।
उनले ‘फार्म टु फाइबर’, ‘फाइबर टु फेब्रिक’, ‘फेब्रिक टु फेसन’ र ‘फेसन टु एक्सपोर्ट’ अवधारणालाई सफल बनाउन आवश्यक दक्ष जनशक्ति उत्पादन गरिने पनि बताए । ग्रिन गार्मेन्ट भिलेजका लागि बजेट व्यवस्था नभएको भन्दै उद्योगीले गुनासो गरेपछि प्रधानमन्त्री शाहले उपयुक्त स्थानमा जग्गा पहिचान गर्न आग्रह गर्दै आवश्यक बजेट उपलब्ध गराउने आश्वासन दिएका छन्।
नेपाललाई अल्पविकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति गर्न तयारी पोसाक उद्योगको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै उनले उद्योगले भोगिरहेका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताए। तयारी पोसाक उद्योगलाई आवश्यक कच्चा पदार्थ तथा सामग्रीसमेत स्वदेशमै उत्पादन गर्न सक्ने क्षमता विकास गर्नुपर्नेमा उनले जोड दिए।
छलफलमा संघका अध्यक्ष पशुपतिदेव पाण्डे, प्रथम उपाध्यक्ष बसन्तराज अधिकारी, महासचिव भीमकुमार गिरी, प्रमुख कार्यकारी अधिकृत सुयश खनाल तथा प्राविधिक सल्लाहकार प्रकाशकुमार झा सहभागी थिए।
