साताको पहिलो दिन नेप्से परिसूचक दोहोरो अंकले घट्यो

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ। दिनभरको कारोबारपछि नेप्से ३०.६० अंकले घटेर २,५७०.१८ विन्दुमा कायम भएको हो।

नेपाल स्टक एक्सचेन्जका अनुसार बजार परिसूचकमा उल्लेख्य गिरावट आए पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ। सोमबार कुल ७ अर्ब ४६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

कारोबारका क्रममा एक कम्पनीको सेयरमा करिब ४८ करोड रुपैयाँसम्मको उच्च कारोबार भएको थियो। यस दिन केही कम्पनीका सेयर मूल्य अधिकतम ५.३७ प्रतिशतसम्म बढेका भए पनि केही कम्पनीका सेयर ११.२८ प्रतिशतसम्म घटेका छन्।

सोमबारको कारोबारमा सबै उपसूचक राताम्य बनेका छन्। बैंकिङ, विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, जलविद्युत्, लगानी, उत्पादन तथा प्रशोधन, लघुवित्त, जीवन बीमा, निर्जीवन बीमा, व्यापारलगायत सबै समूहका सूचकमा गिरावट आएको छ।

बजार विश्लेषकहरूका अनुसार नाफा सुरक्षित गर्ने प्रवृत्ति, लगानीकर्ताको पर्ख–हेर रणनीति तथा बिक्री चाप बढ्दा साताको पहिलो दिन नै बजारमा व्यापक गिरावट देखिएको हो। कारोबार रकम उच्च रहे पनि बजारमा बिक्रीकर्ता हाबी हुँदा परिसूचक ओरालो लागेको विश्लेषण गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर