आज सोमबार नेप्से परिसूचक दोहोरो अंकले घट्यो

काठमाडौं ।  साताको पहिलो कारोवारको दिन आज सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ। दिनभरको कारोबारपछि नेप्से १६.५४ अंकले घटेर २,६३२.९६ बिन्दुमा कायम भएको हो। आज कारोबार भएका १३ वटै उपसमूहको परिसूचक ओरालो लाग्दा बजारमा व्यापक बिक्री दबाब देखिएको छ।

कारोबार रकमका आधारमा ग्लोबल आइएमई बैंक अग्रस्थानमा रह्यो। बैंकको ८ करोड ८३ लाख ६२ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको नेप्सेले जनाएको छ। यद्यपि समग्र बजार घटे पनि केही कम्पनीका लगानीकर्ताले उल्लेख्य लाभ कमाएका छन्।

टक्सार पिखुवा खोला हाइड्रोपावर, याम्बलिङ हाइड्रोपावर, स्नो रिभर्स र धौलागिरी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य क्रमशः १४.९९ प्रतिशत, १४.९९ प्रतिशत, १४.९९ प्रतिशत र १४.९८ प्रतिशतले बढ्दै सकारात्मक सर्किट लागेको छ।

उता, स्वाभिमान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी घाटा बेहोरे। कम्पनीको सेयर मूल्य ५.८३ प्रतिशतले घटेको छ।सोमबार ३५१ कम्पनीका ७६ लाख ९९ हजार २२७ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ६७ करोड १८ लाख ३२ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ।

तीन कम्पनीका बोनस सेयर सूचीकृत

यसैबीच नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सोमबार तीन कम्पनीका बोनस सेयर सूचीकृत भएका छन्। नेप्सेका अनुसार सुपर माई हाइड्रोपावर लिमिटेड, नेको इन्स्योरेन्स लिमिटेड र एनएमबी बैंक लिमिटेडका बोनस सेयर सूचीकृत भएका हुन्। सुपर माई हाइड्रोपावर लिमिटेडको २० प्रतिशत बोनस सेयरबापत १० लाख ७० हजार कित्ता सेयर सूचीकृत भएको छ।

त्यसैगरी, नेको इन्स्योरेन्स लिमिटेडको ३ प्रतिशत बोनस सेयरबापत ८ लाख ७ हजार ४६० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ। यस्तै, एनएमबी बैंक लिमिटेडको ५ प्रतिशत बोनस सेयरबापत ९१ लाख ८३ हजार ३५२.९८ कित्ता सेयर पनि सूचीकृत भएको नेप्सेले जनाएको छ।नेप्सेका अनुसार सूचीकृत भएका यी बोनस सेयर सम्बन्धित सेयरधनीको हितग्राही (डिम्याट) खातामा जम्मा भएपछि दोस्रो बजारमा खरिद–बिक्री गर्न सकिनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर