नेप्से परिसूचकमा झिनो गिरावट
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापन गर्ने नेप्से परिसूचक आज (असार ११ गते) पनि ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार आज परिसूचक ८.५० अङ्कले घटेर २,६५१.५२ को बिन्दुमा सीमित भएको हो।
ठुला तथा स्थापित कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि आज ०.६४ अङ्कले ओरालो लाग्दै ४५८.२३ मा झरेको छ। बजारमा उतारचढावका बीच आज कुल ३३८ कम्पनीको ६४ लाख ८० हजार ५९९ कित्ता शेयर २ अर्ब ८३ करोड ८२ लाख ७९ हजार ४११ रुपैयाँ मूल्यमा खरिद-बिक्री भएको नेप्सेले जनाएको छ।
आजको बजारमा कारोबार रकमका आधारमा सोपान फर्मासिटिकल्स शीर्ष स्थानमा रहन सफल भयो। यसका साथै रिलायन्स स्पिनिङ मिल्स, सप्तकोशी डेभलपमेन्ट बैंक, आँखुखोला जलविद्युत् कम्पनी र नेपाल एसबिआई बैंक क्रमशः सर्वाधिक कारोबार गर्ने शीर्ष पाँच कम्पनीभित्र पर्न सफल भए।
नेप्सेका अनुसार आजको कारोबारमा टक्सार पिलुवा खोला हाइड्रोपावर, याम्बालिङ हाइड्रोपावर, कालिका लघुवित्त, सप्तकोशी डेभलपमेन्ट बैंक र रिलायन्स स्पिनिङ मिल्सका लगानीकर्ताहरूले सबैभन्दा बढी कमाएका छन्। अर्कातर्फ, भुजुङ हाइड्रोपावर, सिवाइसी नेपाल लघुवित्त, भगवती हाइड्रोपावर, सानिमा डिबेन्चर र थ्री स्टार हाइड्रोपावरका लगानीकर्ताहरूले भने आजको बजारबाट गुमाउनुपरेको छ।
