आजको सेयर बजार २६ अंकले ओरालो लाग्यो
काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले घट्दै राताम्य बनेको छ। लगानीकर्ताको बिक्री दबाब बढ्दा नेप्से २६.१६ अंकले ओरालो लागेर २६७४.४८ विन्दुमा बन्द भएको हो।
आज परिसूचक ०.९६ प्रतिशतले घटेको छ। कारोबारमा सहभागी अधिकांश कम्पनीको सेयर मूल्य ओरालो लाग्दा बजारमा व्यापक गिरावट देखिएको हो। कारोबार भएका ३५३ कम्पनीमध्ये २३९ कम्पनीको सेयर मूल्य घटेको छ भने २२ कम्पनीको मात्रै मूल्य बढेको छ। ११ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
बजारको संवेदनशीलता मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २.३१ अंकले घटेर ४६१.४८ विन्दुमा झरेको छ। नेप्सेअन्तर्गत रहेका १३ उपसूचकमध्ये १२ वटा समूह राताम्य बनेका छन् भने एउटा उपसूचक मात्रै हरियो रहन सफल भएको छ।
परिसूचकसँगै कारोबार रकममा पनि सामान्य कमी आएको छ। अघिल्लो कारोबार दिन ४ अर्ब ४४ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको बजारमा आज ४ अर्ब ३६ करोड २१ लाख ९४ हजार ७७१ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।
आज ३५३ कम्पनीका १ करोड ४० हजार १६४ कित्ता सेयर ७२ हजार ८५४ पटक खरिद–बिक्री हुँदा उक्त कारोबार रकम पुगेको हो।यस दिन दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ भने एक कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ, जसले बजारमा उतारचढावको तीव्रता देखाएको छ।
