नेपाल भेनेजुएला र जिम्बावेको हालतमा पुग्ने अर्थमन्त्रीको चेतावनी
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गरिबी न्यूनीकरणका नाममा नगद वितरण गर्दै गयो भने नेपाल भेनेजुएला र जिम्बावे देशको हालतमा पुग्ने बताएका छन् । प्रतिनिधिसभामा आज भएको बजेटसम्बन्धी छलफल र त्यमाथि सांसदहरूले उठाइएका प्रश्नहरूको जवाफ दिने क्रममा उनले नागरिकको आम्दानी बढाउने नीतिमा सरकार केन्द्रित रहेको बताए ।
उनले सरकारले विद्यमान सामाजिक सुरक्षा कार्यक्रमहरू नकटाएको बरू थप विस्तार गरेको दावी गरे । उनका अनुसार दलित बालबालिकाका लागि पौष्टिक आहार तथा बीमासम्बन्धी कार्यक्रमसमेत थप गरिएको छ। वाग्लेले नगद बाँड्दैमा मात्र गरिबी नघट्ने उल्लेख गर्दै सरकारले नागरिकलाई सधैं सहायता लिने अवस्थामा राख्नेभन्दा आम्दानी आर्जन गर्न सक्ने अवस्थामा पुर्याउने लक्ष्य लिएको बताए।
त्यसका लागि कृषि आधुनिकीकरण, बीमा, डिजिटल अर्थतन्त्र र स्टार्टअप प्रवर्द्धनलगायतका कार्यक्रम अघि सारिएको उनको भनाइ छ। उनले आर्थिक वृद्धिको स्वरूप सधैं श्रममैत्री नहुन सक्ने भए पनि सरकारले समावेशी अर्थतन्त्र निर्माणमा जोड दिएको बताए।
उनले चीनको उदाहरण दिँदै समावेशी आर्थिक वृद्धिकै आधारमा २०–२५ वर्षको अवधिमा ८० करोडभन्दा बढी मानिस गरिबीबाट माथि उठ्न सफल भएको उल्लेख गरे। ‘पैसा मात्र बाँड्न थाल्यौं भने हामी जिम्बावे र भेनेजुएलाजस्ता अवस्थातर्फ जान सक्छौं’, उनले भने।
