कोरोलाबाट भित्रिएका ७७४ वटा विद्युतीय गाडी सशस्त्रको नियन्त्रणमा
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले मुस्ताङको कोरोला नाकाबाट भित्रिएका ७७४ वटा विद्युतीय गाडी नियन्त्रणमा लिएको छ । भन्सार छली गरेको आशङ्कामा मुस्ताङको जोमसोम, पर्वतको कुस्मा र कास्कीको हेम्जाबाट गए राति सशस्त्र प्रहरी बलले ती गाडीहरू नियन्त्रणमा लिएको हो ।
यसैगरी नुवाकोटको पासाङल्हामु सडक खण्डबाट समेत २ वटा गाडी नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ । नियन्त्रणमा लिइएका गाडीहरू आवश्यक अनुसन्धानको लागि सम्बन्धित निकायमा बुझाउने तयारी छ । गाडी नियन्त्रणका लागि सशस्त्र प्रहरी बल नेपाल नं. ३३ गुल्म मुस्ताङ, म्याग्दी गुल्म, नं. २५ चण्डिका गण पर्वत तथा नं. २४ कालिका गण कास्कीबाट सुरक्षाकर्मी परिचालन गरिएको थियो।
प्रवक्ता भट्टका अनुसार नियन्त्रणमा लिइएका अधिकांश सवारी BYD ब्रान्डका विद्युतीय गाडी हुन्। भन्सार छली भएको भन्ने उजुरी प्राप्त भएपछि निगरानी र गस्ती बढाइएको तथा सोही क्रममा गाडीहरू नियन्त्रणमा लिइएको उनले जानकारी दिए। प्राप्त जानकारीअनुसार जेठ ८ गतेदेखि १२ गतेसम्म नेपाल भित्रिएका गाडीहरू नियन्त्रणमा लिइएको हो। आगामी आर्थिक वर्षको बजेटमार्फत मध्यम तथा प्रिमियम श्रेणीका विद्युतीय सवारीमा कर वृद्धि गरिएपछि उक्त अवधिमा ठूलो संख्यामा गाडी आयात भएको विषयले पनि चासो बढाएको छ।
