तटबन्ध बनाउन भारतीय एसएसबीको अवरोध
काठमाडौं । नारायणी नदीको कटानबाट सुस्ता बचाउनका लागि नेपालले नवलपरासीको सुस्ता गाउँपालिका–५ मा निर्माण गर्न लागेको तटबन्ध निर्माणमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले अवरोध गरेको छ ।
नेपालले आफ्नै भूमिमा तटबन्ध बनाउन खोज्दा पनि एसएसबीले अवरोध गरेको निर्माण आयोजनाका अधिकारीहरूको भनाइ छ । सुस्ता पुलबाट उत्तरतर्फ नेपाल–भारत सीमाभन्दा ५० मिटर वरै आफ्नै भूमिमा तटबन्ध बनाउन खोज्दा एसएसबीले अवरोध गरेको सुस्ता बचाउ अभियानका संयोजक आदम खानले बताउनुभयो ।
‘‘भेल्लर (सिमल)को रुख भएको ठाउँलाई सीमा मानिन्छ, तर नेपालले त्योभन्दा ५० मिटर वरै आफ्नै भूमिमा नयाँ परियोजना अन्तर्गत १३२ मिटर लामो तटबन्ध बनाउन लागेकोमा यो विवादित क्षेत्र भन्दै भैसालोटनस्थित बाल्मिकीनगरबाट आएको एसएसबीले काम नगर्न भनेको छ’’ खानले भन्नुभयो ।
एसएसबीले अवरोध गरे पनि आफूहरू चुप लागेर नबस्ने उहाँको भनाइ छ । ‘‘यो नेपाली भूमि हो, हाम्रो भूमि रक्षाका लागि हामी ज्यानको आहुती दिन पछि पर्दैनौ, खानले भन्नुभयो, ‘‘यो सुस्तालाई चारैतिरबाट घेर्ने भारतीय योजना हो, भोलि हामी यहाँका सबै जनता निर्माणस्थलमा गएर धर्ना दिई काम अघि बढाउन दबाब दिन्छौं ।’’
तटबन्ध नबनाएमा नारायणी नदीले सुस्ता डुबाउने र नदीले धार परिवर्तन गरेपछि सीमा फेरबदल हुन्छ भन्ने आसयले भारतले काममा अवरोध गरेको उहाँको आशङ्का छ । पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले पनि भारतीय पक्षले अवरोध गरेको गृह मन्त्रालयमा जानकारी गराइसकेकाले अब माथिबाट आउने आदेशका आधारमा अघि बढ्ने बताउनुभयो ।
‘‘उहाँहरूले यो बिवादित क्षेत्र भएकाले सन् २०२३ मा भएको सहमति विपरित भन्दै काम रोक्न भन्नुभएको छ, त्यति बेला के सहमति भएको रहेछ, त्यसको अध्ययन गरेर केन्द्र सरकारको निर्देशक अनुसार अघि बढ्छौं’’ प्रजिअ नेपालले भन्नुभयो ।
सङ्घीय सरकार अन्तर्गत सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना भरतपुरले हेरी एन्ड जेभी कन्स्ट्रकसन प्रालिलाई एक करोड ४० लाख रुपियाँमा तटबन्ध निर्माणको ठेक्का दिएको हो । ठेकेदार कम्पनी आवश्यक साधनसहित काम गर्न फिल्डमा आएको बेलामा अवरोध भएको आयोजनाका इन्जिनियर बेलबहादुर विकले बताउनुभयो ।
गत वर्षको बर्खायाममा सुस्ताको उत्तरतर्फको भागबाट बाढी बस्तीमा पसेपछि स्थानीयले रातभर जाग्राम बसेर बोरामा बालुवा भरेर बस्ती जोगाएका थिए । बर्खा लाग्नुअघि नै नदी नियन्त्रणको बलियो संरचना तयार नभए बाढीको भेलसँगै सुस्ता बग्ने भन्दै यहाँका स्थानीय चिन्तित छन् ।
सुस्ता तीन तिरबाट नारायणी नदी र एक तिरबाट भारतीय जमिनले घेरिएको छ । जसले गर्दा नदी बस्तीमा पस्यो भने उद्धारका लागि समेत समस्या हुने सुस्ता बचाउ अभियानका संयोजक खानको भनाइ छ । यहाँ झण्डै तीन सय ५० घरधुरीमा ३ हजार २ सयभन्दा बढी नेपाली बसोवास गर्छन् ।
४० हजार ९८० हेक्टर क्षेत्रफल रहेको सुस्तामा १४ हजार ५०० हेक्टर क्षेत्रफल भारतले अतिक्रमण गरिरहेको छ । सशस्त्र प्रहरी बल नेपाल बिओपी सुस्ताका प्रहरी निरीक्षक बसन्त पण्डितका अनुसार १९ हजार ९८० हेक्टर क्षेत्रफललाई विवादित भनेर राखिएको छ भने नेपालले ७ हजार हेक्टर जमिन मात्र भोगचलन गरिरहेको छ । त्यसमध्ये ५५६ बिघा क्षेत्रफलको मात्र लालपूर्जा स्थानीयको नाममा छ ।
पहिले यहाँ ९ वटा वडा रहेको सिङ्गो गाउँ पञ्चायत थियो । २०३४ सालमा नारायणी नदीमा बाढी आएपछि उक्त गाउँ पञ्चायत विस्थापित भयो । विस्थापित ठाउँको दक्षिण तिरबाट भारतले अतिक्रमण बढाउँदै लगेको सुस्ता बचाउ अभियानका सल्लाहकार किशन शर्मा गैरेको भनाइ छ ।
विसं २०२५ मा सुस्तामा पञ्चायत कार्यालय, स्कुल, हुलाक कार्यालय, प्रहरी चौकीलगायत कार्यालय स्थापना गरी प्रशासनीय काम सुरु गरिएको थियो । २०२७ सालमा नापी विभागले सुस्ताको नापी नक्सा गर्दा भारतीय प्रहरी प्रशासनले नापीका कर्मचारी पक्राउ गरेको थियो ।
उनीहरूलाई भारतको चम्पारणस्थित बेतिया जेल चलान गरी एक वर्षपछि जमानतमा रिहा गरिएको थियो । नेपाल–भारत दुवैको सहमतिमा २०२९ सालमा सुस्तामा नापी गरी ५५६ बिघा जमिनको जग्गाधनी प्रमाणपत्र वितरण गरिएको थियो । २०६२ सालदेखि भने भारतले निरन्तर सुस्तामा अतिक्रमण गरिरहेको स्थानीयको दाबी छ । त्यसपछि सुस्तामा सीमा सर्वेक्षण भएको छैन ।
