आज सोमबार २६ अंकले घट्यो नेप्से

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गरेपछि खुलेको पहिलो दिनको सेयर बजारमा नकारात्मक प्रभाव देखिएको छ। लगानीकर्ताले बजेटमा समेटिएका केही नीतिगत परिवर्तनप्रति असन्तुष्टि जनाएपछि बजार ओरालो लागेको हो। शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको बजेटमा पूँजीगत लाभकरको दर वृद्धि र केही कर नीतिमा गरिएको परिवर्तनलाई लगानीकर्ताले नकारात्मक रूपमा लिएको देखिन्छ।

सोमबारको कारोबारमा नेप्से परिसूचक २६.७२ अंक (०.९६ प्रतिशत) ले घटेर २७५५ विन्दुमा झरेको छ। कारोबारको सुरुवातमा उतारचढाव देखिए पनि ११:३७ बजेपछि बजार निरन्तर ओरालो लागेको थियो। दिउँसो २:३८ बजे नेप्से दिनको न्यूनतम २७४६ विन्दुमा पुगेको थियो। बजारमा ३५ कम्पनीको मूल्य बढ्दा २३३ कम्पनीको घट्यो भने २ कम्पनी स्थिर रहे।

बजेटले पूँजीगत लाभकर साढे २ प्रतिशत विन्दुले वृद्धि गर्दै अल्पकालीन (१ वर्षभन्दा कम) लगानीमा १० प्रतिशत र दीर्घकालीन (१ वर्षभन्दा बढी) लगानीमा साढे ७ प्रतिशत कायम गरेको छ। साथै, वार्षिक ४० लाख रुपैयाँभन्दा बढी आम्दानी हुनेको हकमा लाभकरलाई अन्तिम करका रूपमा नमानिने व्यवस्था गरिएको छ, जसले लगानीकर्तामा थप अन्योल सिर्जना गरेको बताइएको छ।

समूहगत सूचकमध्ये अन्य समूह ३.३६ प्रतिशतले बढेको छ। यसअन्तर्गत नेपाल पुनर्बीमा कम्पनी को सेयर मूल्य १५ प्रतिशतले बढेपछि सूचकमा सकारात्मक प्रभाव परेको हो।

त्यस्तै, निर्जीवन बीमा समूह १.३७ प्रतिशतले बढेको छ। तेस्रो पक्ष सवारी दुर्घटना बीमा सीमा १० लाख रुपैयाँ पुर्‍याइएकाले बीमा कम्पनीहरूको भविष्यको प्रिमियम आम्दानी बढ्ने अपेक्षाले यो समूहमा सकारात्मक असर परेको छ। तर व्यापार समूह सबैभन्दा धेरै ६.१४ प्रतिशतले घटेको छ। बजेटमा विशाल बजार कम्पनी लिमिटेड मा सरकारी सेयर हिस्सा घटाउने घोषणा भएपछि यसको मूल्य ६.९५ प्रतिशतले घट्दा समग्र समूह प्रभावित भएको हो।

बैंकिङ, विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, जलविद्युत्, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन र माइक्रोफाइनान्स समूहहरू पनि अधिकांश घटेका छन्। आज कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत कम्पनी, नेपाल पुनर्बीमा, हिमालयन रिइन्स्योरेन्स, रिडी पावर र नेसनल हाइड्रोपावर अगाडि रहेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर