आज नेप्से सूचक १२.३६ अंकले घट्यो
काठमाडौं । हिजो बुधबार नेप्से सूचक ३० अंकमाथिले बढेकोमा यो उत्साह एक दिन पनि टिक्न सकेन । नेप्सेमा आज १२ अंकमाथिको गिरावट आएको छ । केही दिनयता लगातार ऋणात्मक बनिरहेको बजारमा हिजो केही उत्साह जगाएको थियो ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक १२.३६ अंकले घट्दै २ हजार ७४२.११ अंकमा झर्न पुगेको छ । तथापि, आज कारोबार भने केही बढेको छ ।
आज ३ अर्ब ८९ करोड ८४ लाख रुपैयाँ बराबरका ८९ लाख ५५ हजार कित्ता शेयर दोस्रो बजारमा किनबेच भएको नेप्सेले जनाएको छ । अघिल्लो दिन ३० अंकले बढेको बजारमा ३ अर्ब ८२ करोड ८ लाख ९६ हजार रुपैयाँ बराबरको १ करोड ६ लाख ६१ हजार कित्ता शेयर कारोबार भएको थियो ।
आज म्युचुअल फन्ड र ट्रेडिङबाहेक ११ वटा उपसूचक ऋणात्मक भएका छन् । १८८ कम्पनीको शेयरमूल्य घट्दा आज ७२ कम्पनीको मात्र मूल्य बढेको छ ।
